गगनकुमार थापा (महामन्त्री, नेपाली कांग्रेस)

गगनकुमार थापा (महामन्त्री, नेपाली कांग्रेस)

गगनकुमार थापा (महामन्त्री, नेपाली कांग्रेस)

राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श र सिद्धान्त नेपाली कांग्रेसले दुई वटा कुराको रूपमा स्वीकार गरेको छ । जब कुनै पनि राजनीतिक दलको हामीले वाद भनेर भन्छौँ । वादको विषय जुन नेपालमा र अहिले मात्रै छ भनेर बुझ्यौँ भने त्यो बुझाइ गलत हुन्छ । यो जहाँ पनि रहन्छ, जहिले पनि रहन्छ र रहिरहन्छ । म यो कुनै एउटा वादसँग नजिक छु भन्दै गर्दा आधारभूत रूपमा त्यो एउटा पक्षधरता हो । यो व्याख्यात्मक पनि हुन्छ र सम्भावित पनि हुन्छ । संसार कस्तो छ भनेर बुझ्ने कुरा भयो । संसार कस्तो हुनुपर्छ भनेर सम्भावित कुरा पनि भयो । नेपाली कांग्रेस पार्टीको संस्थापक नेताहरूले हाम्रो समाज यस्तो छ भनेर केही व्याख्या गर्नुभयो । हाम्रो समाज वास्तवमा यस्तो पो हुनुपथ्र्याे, समान हुनुपथ्र्याे, अधिकार हुनुपथ्र्याे, न्याय हुनुपथ्र्याे, हक हुनुपथ्र्याे भनेर भन्नुभयो । त्यसलाई हामीले एक ठाउँमा ल्याएर जोड्यौँ । त्यो जोडेको कुरालाई हामीले विचारधारा भन्यौँ । सजिलोको लागि हामीले त्यसलाई प्रजातान्त्रिक समाजवाद भन्यौँ । त्यहीसँग जोडिएर हामी आयौँ ।

एकातिर यसले समाज र हाम्रा प्रश्नहरूलाई बुझ्नका लागि फ्रेमवर्क दिने भयो । यसको नकारात्मक पक्ष भनेको तपाईंलाई कित्ताकाट गर्न र आफ्नो अयोग्यताहरू छोप्न सजिलो बनाइदियो । आफूसँग उत्तर नहुनेका लागि सजिलो बनाइदियो । धेरैजसो ठाउँहरूमा र धेरैजसो चरणहरूमा सबैका लागि अयोग्यताहरू छोप्नका लागि सजिलो बनाइदियो । एउटा एकल तहभित्र हाम्रा कार्यक्रमहरू राख्ने अवस्था बनाइदियो । म यसको एउटा उदाहरण दिन्छु । नेपाली कांग्रेसको नेता विश्वेश्वरप्रसाद कोइरालाले २०१५ सालमा प्रधानमन्त्री हुनुभएको समयमा एउटा विशिष्ट सन्दर्भमा त्यो बेलाको सरकार चलाउँदै गर्दा त्यो बेलाको नेपालको स्रोत साधनको उपलब्धता,जनसंख्या, साक्षरता, परिवेश र विश्व परिवेश लगायतका सबै कुराहरूलाई हेरेर केही आफ्ना आर्थिक नीतिहरू अगाडि बढाउनुभयो ।

मुख्य रूपमा मेरो सार्वजनिक नीतिले भूईमान्छेहरूलाई माथि उठाउनुपर्छ र उनीहरूको जीवन अगाडि बढाउनुपर्छ भनेर अगाडि सार्नुभएको थियो । बिपी कोइरालाले नै अगाडि बढ्ने क्रममा एउटा विन्दुसम्म के भन्नुभयो भने नेपालजस्तो देशले ठूला–ठूला उद्योगहरू चलाउनुपर्छ । प्रचुर उत्पादन गर्नुपर्छ । उत्पादन गरी सकेपछि मात्रै वितरण गर्नुपर्छ । त्यसैले पहिले हामीले यहाँको उत्पादन जान्नुपर्छ । उत्पादन गर्ने चरणमा केही क्षतिहरू पनि हुन सक्छन् लगायत भन्नुभएको थियो । त्यसपछि बिपी कोइरालाको सरकार अपदस्त भयो । लामो समयसम्म जेलमा र निर्वासनमा हुनुभयो ।

त्यसपछि करिब २०३० सालतिर उहाँले आफ्नो उत्पादनको पुरानो व्याख्यालाई अगाडि बढाउनुभयो । त्यसपछि बिपी एउटा चरणमा आइसकेपछि सशस्त्र क्रान्ति गर्ने क्रममा उहाँ महात्मा गान्धीको ठुलो विरोधी हुनुभयो । गान्धीको विचारको विरोधी हुनुभयो । करिब २०३३ सालतिर आइपुग्दा बिपीले आफूले केही समय अगाडि राखेको व्याख्याको पुनर्विचार गर्नु भयो र सार्वजनिक रूपमा आफू गलत भएको र गान्धी ठिक रहेको स्पष्टोक्ति दिनुभयो । नेपाल जस्तो देशलाई ठूलो उत्पादन चाहिने रहेनछ भन्नुभयो । हामीहरूले हामीहरूको जस्तो ठाउँमा खास गरी सहर पनि नबनाऔँ। ग्रामीण ठाउँहरूलाई नै ठिक बनाऔँ भनेर भन्नुभयो । त्यसपछि बिपीको देहावसान भयो ।

मैले एउटा विचार अगाडि सार्ने कोसिस गरेको छु । ‘समुन्नत नेपाल’ मैले अगाडी सारेको नयाँ एउटा अवधारणा हो । समुन्नत नेपाललाई प्राप्त गर्ने हाम्रो सैद्धान्तिक रूपरेखा भनेको सामाजिक लोकतन्त्रको सैद्धान्तिक रूपरेखा हो । सामाजिक लोकतन्त्र भनेको के हो भन्ने कुरा प्रारम्भिक रूपमा यसलाई व्याख्या गर्ने प्रयास गरेको छु । साथीहरूको बिचमा छलफल गरिरहेको छु । मेरो प्रस्थान विन्दु कहाँ हो भने हामी नेपाली कांग्रेसका धेरै जना साथीहरूले बिपी कोइरालामाथि अन्याय ग¥यौँ । बिपी कोइराला जो आफैँले अगाडि सार्नुभएको आर्थिक कार्यक्रम जसलाई हामीले बिचैमा छाड्यौँ । तर हामीले एउटा परिवेशमा बनाएको आर्थिक कार्यक्रमलाई वादको नाम दिएर त्यसलाई परिवर्तन गर्न नहुने भनेर गुम्साएर राख्यौँ, त्यसले विरोधाभास भयो । एकातिर सन् १९९० पछि आफैँले गरेको कामको अपनत्व लिन पनि हामीले हिचकिचायौँ ।

सन् १९९० पछि गरेको उदारीकरण लगायतका हरेक कुराहरूमा नेपाली कांग्रेसका साथीहरूलाई गौरव गर्न सक्नुहुन्न उहाँहरूले बिपीले त्यस्तो भन्नुभएको थिएन भन्नुहुन्छ । बिपीलाई उहाँहरूले रोक्नुभयो । त्यसैले राष्ट्रियताको सन्दर्भमा पनि त्यही कुरा हो । राष्ट्रियताको धारणा र परिभाषा हामीले जति बेला दोस्रो विश्वयुद्धको समयमा बुझ्थ्यौँ, अहिले हामीले के कुरा बुझ्छौँ ? त्यो त निरन्तर परिवर्तन भइरहने कुरा हो नि । यो त फेरि आफूभित्रको मात्र कुरा होइन । अहिले जुन अवधारणा बनाउनुभएको छ, यसलाई प्रभावित पार्ने अन्य बाहिरी तŒवहरू छन् कि छैनन् भन्ने कुरा पनि ध्यान दिनुपर्छ । ती तत्वहरू एउटै रहन्छन् कि बदलिन्छन् भन्ने कुराले पनि असर गर्छ ।

हाम्रो सन्दर्भमा हामीले मन्त्र जस्तो रूपमा लियौँ । राष्ट्रियताको विषयमा कुरा गर्दा राष्ट्रियता सकारात्मक ऊर्जा हो । लोकतन्त्र हाम्रो निम्ति एउटा विश्वास हो र समाजवादको त्यो विचारले हामीलाई निरन्तर रूपमा समाज बदल्नका लागि उत्प्रेरित गर्छ । यो बाहेक अरू कुरा आफूले बनाउनुपर्ने हो तर हामीले यो कुरा छाडेर ४० वर्षअघि हामी जस्तै नेताको अवधारणालाई मन्त्र जस्तै मान्छौँ । यो मन्त्र जस्तो जप्ने परिवेशलाई तोड्नुपर्छ र छोड्नु पर्छ भन्ने एउटा प्रयास हो ।

मेरो पार्टी नेपाली कांग्रेसका करिब १० लाख क्रियाशील सदस्य हुनुहुन्छ । क्रियाशील सदस्य भनेको जसले पार्टीको लेबी बुझाएको हुन्छ र फारम भरेको हुन्छ र दिनको यति घण्टा पार्टीलाई समय दिन्छु भनेर शपथ पनि खाएको हुन्छ । दश १० लाख जना मानिसहरूलाई परिचालित गरेर ४० लाख मत त्यसमा थप जोडेर हामी अब आउने निर्वाचनमार्फत सरकारमा पुग्न चाहन्छौँ । सरकार पाँच वर्ष चलाउन चाहन्छौँ ।

पार्टीमा कसरी साथीहरूको संख्या बढाउने भनेर हाम्रो पार्टीका सबै साथीहरू प्रशिक्षित हुनुहुन्छ । हामीहरूले जन परिचालन गरेर सङ्गठन भन्छौँ सबै कुराहरू गरेर आफ्नो पार्टी प्रति आकर्षित गरेर निश्चित मतदाताहरूलाई आफूसँग जोडेर हामी सरकारमा पुग्न चाहन्छौँ र सत्तामा पुग्न चाहन्छौँ । सैद्धान्तिक रूपमा सरकारमा पुगेर स्रोतसाधनको प्रयोग गरी सार्वजनिक नीति मार्फत बदलाव लिएर आउन चाहन्छौँ ।

हाम्रो पार्टी पंक्तिलाई सरकारसम्म कसरी पुग्ने भन्ने थाहा छ। जनताको जीवनमा बदलाव ल्याउन सरकारसम्म पुग्ने भन्ने थाहा छ। एउटा प्रश्नको उत्तर छुटेको रहेछ भन्ने कुरा मैले तीन पटक सांसद हुँदा, मन्त्री हुँदा र संसदीय समितिको सभापति हुँदा काम गरेको अनुभवले बुझेँ । यो राजनीतिक दल जसको हामी सदस्य हौँ । हाम्रो दल र हाम्रो दलको संरचनामा गर्ने कसरी भन्ने कुरा शून्य रहेछ । हामीले हाम्रो सिँगो दलको संरचना र काम गर्ने प्रणाली के को लागि बनाएका छौँ भने एउटा सत्ता भेट्न र त्योसँग लड्नका निम्ति बनाएको हो । त्यसैले हामीलाई तपाईंहरूले सडकमा देख्दै गर्दा प्रष्ट र जुझारु देख्नुभयो । हाम्रो मिसन पनि प्रष्ट थियो र छ । हामीले जहिले पनि नियतमाथि प्रश्न ग¥यौँ हामी यसको आधारभूत कुरामा गएनौँ ।

चुनावबाट सरकारमा कसरी पुग्ने भनेर नेपाली कांग्रेसको सिङ्गो नौ लाख पंक्तिले काम गरिरहेको थियो । सरकारमा पुगेपछि के काम गर्ने भनेर छुट्टै हामीले काम गर्नुपर्छ भनेर काम गर्न हामीले सुरु गरेको पहिलो बैठक सुरु गर्ने वित्तिकै संसद् बैठक विघटन भएको समाचार आयो । त्यसपछि हामी केही समय अलमलियौँ तर अहिले पनि काम गरिरहेका छौँ । सरकार भनेको शून्यबाट सुरु हुँदैन । त्यो त निरन्तरता हो । त्यसको एउटा निश्चित सन्दर्भ हुन्छ । तपाईंलाई एउटा सन्दर्भ र परिवेश छ । तपाईंसँग स्रोतको सीमितता छ । यसभन्दा अगाडि केपी शर्मा ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्थ्यो ।

अहिले शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा मन्त्री हुनुहुन्छ । हामीले चार खर्ब बजेटमा दुईचार वटा कार्यक्रम बदल्ने र तलमाथि गर्ने बाहेक केही गर्न सक्दैनौँ । अर्थात् हामीलाई स्रोतको सीमितता र निश्चितता छ । तपाईंसँग भएको साधन पनि त्यही हो । आकांक्षाहरू असीमित हुन्छन् । यस्तो बेलामा के गर्न ? कसरी गर्ने ? कहिले गर्न ? भन्ने बारेमा पूर्व तयारी आवश्यक हुन्छ । हामीले यी स्मार्ट भन्छौँ तर हामीलाई स्मार्ट सिटि भन्छौ तर हामीलाई स्मार्ट सरकार चाहिएको हो । त्यो स्मार्ट सरकार भनेको कस्तो भने थोरै स्रोत साधनहरूबाट धेरै आकांक्षाको परिपूर्ति गर्ने हुनुपर्छ । सबैभन्दा सोच्न सक्ने ठाउँ त्यहाँ सरकारमा हुन्छ । जस्तो हाम्रो कक्षाकोठामा विद्यार्थी पुगेको छ, शिक्षक पुगेको छ तर सिकाइ हुँदैन ।

हाम्रा १०० जना विद्यार्थीहरूमा कति जनाले विज्ञान शिक्षण भनेर सिकाइयो भने २५ अंकको विज्ञान सिक्ने मान्छे २५ जना पनि हुँदैनन् । ७५ जनाभन्दा बढीले २५ अंकको विज्ञान पनि बुझेका हुँदैनन् । गणितलगायतका अरू उदाहरणहरू पनि त्यही नै हुन् । हाम्रो समाजवादले के भन्छ भने सबैलाई न्याय दिनुपर्छ र अधिकार दिनुपर्छ । न्याय र अधिकार दिने कुराको एउटा कुरा शिक्षा हो भन्छ । हाम्रो घोषणा–पत्रले के भन्छ भने सार्वजनिक शिक्षाको स्थिति सुधार गरिनेछ । त्यहाँसम्म ठिकै छ तर गर्ने चाहिँ कसरी हो ? हामीसँग सीमित स्रोतसाधन छ । त्यो विद्यालयमा धेरै बजेट लैजानका लागि अन्यत्रबाट बजेट काट्नुपर्छ ।

एउटा मन्त्रालयको बजेट बढाउँदा अर्कोको घट्छ । सीमित स्रोत साधनको व्यवस्थापन कसरी गर्ने भनेर हामीले कर्मचारी र विज्ञहरूलाई छाडिदिएका छौँ । हाम्रो कामचाहिँ देश बनाउने हो भनेर यसलाई अलग राखेका छौँ । हाम्रो समस्या यही हो । नेपालको राजनीतिक दलभित्र हामीले के कुरा स्थापित गर्नुपर्छ भने सीमित स्रोत साधनलाई समुचित प्रयोग गर्नका लागि काम गर्नुपर्छ । प्रधानमन्त्री बन्ने दिन प्रधानमन्त्रीले मन्त्रीलाई बोलाएर पाँच वर्ष म यो काम गर्नका लागि आएको हुँ, कति वटा कानुन बनाउँछु, यति वटा कुरा बदल्छु, नेपाललाई यो ठाउँबाट त्यो ठाउँमा पु¥याउँछु र यसरी पु¥याउँछु भनेर भन्नुपर्छ ।

नेपालको आगामी दश पन्ध्र वर्ष नेपालको स्वास्थ्य क्षेत्रले जुन बाटो लिन्छ, त्यो स्वास्थ्य क्षेत्रले लिने बाटो म स्वास्थ्य मन्त्री हुँदाको छसात महिनाको अवधिमा मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्दै गर्दा हालेको जगमै टेकेर लिने हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मैले यति वटा स्वास्थ्य संस्था उद्घाटन गरे भन्नुभयो । त्यसको कहाँ अस्पताल कति वटा बनाउने भन्ने नाप नक्सा मैले नै बनाएर आएको थिएँ । जसमा उहाँले उद्घाटन गर्नुभएको हो तर उहाँले मानव संसाधनविना गलत रूपमा उद्घाटन गर्नुभयो । जसलाई हामीले स्वास्थ्य बिमा भनेर भन्यौँ, जुन हामीले अहिले पनि सञ्चालन गरिरहेका छौँ, यो स्वास्थ्य बिमा होइन ।

यो एउटा सामान्य स्वास्थ्य सुरक्षाको कार्यक्रम हो । बिमा भएपछि विश्वव्यापी हुनुपर्छ । बिमामा सबै आबद्ध हुनुपर्छ । बिमाको वित्त पोषण कुरा सबैभन्दा महŒवपूर्ण कुरा हो । त्यसैले नेपालको प्रत्येक नेपाली नागरिक चाहे त्यो खर्बपति विनोद चौधरी होस वा यहाँ सडकमा मकै बेच्ने नागरिक होस्, त्यो नेपालको स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुनुपर्छ । त्यसको वित्त पोषण मोडलमा विनोद चौधरी पनि सहभागी हुनुपर्छ र सडकछेउमा मकै बेचेर जीविकोपार्जन गर्ने मानिसको सहभागिता उसको पक्षबाट राज्यले गरिदिन्छ । एउटा नेपालको नागरिक जो खल्तीमा एक रूपैयाँ नदिइकन पनि प्लाष्टिक सर्जरी र दाँतको उपचार बाहेक बाँकी रहेको उपचारमा उसले एक रूपैयाँ पैसा तिर्न नपर्ने बिमाको कानुन बनाएर त्यसको प्रारम्भ पनि गरेर आएको हुँ । मैले स्वास्थ्य मन्त्रीको जिम्मेवारी बाट बाहिरिएपछि अगाडि बढ्नुपर्ने कुरामा जति बढ्नुपर्ने हो त्यो भएन ।

किन अगाडि बढ्न सकेन भन्ने कुरा निरन्तर प्रश्नको विषय होला । कसैले मलाई स्वास्थ्य मन्त्री हुँदा कति काम गर्नु भयो भन्दा थोरै समयमा भन्नुहोस् भने भने स्वास्थ्य बिमा सबैभन्दा मुख्य विषय हो र नेपालको स्वास्थ्य क्षेत्रको सात वर्षको योजना हो । सात वर्षको योजना भनेको एउटा नगरपालिकाको एउटा प्रमुखले अस्पताल बनाउने कुरा पनि र त्यो अस्पताल बनाउँदै गर्दा वा अहिले वीर अस्पताल बन्दै गरेको कुरासँग लगेर नेपालको सिँगो स्वास्थ्यको पूर्वाधारलाई एकै ठाउँमा ल्याएर जोडेर बल्ल हामीसँग भएको स्रोतको अधिकतम् र सही सदुपयोग हुन सक्दछ ।

यहाँ म सांसद छु र मेरो निर्वाचन क्षेत्रमा भोट माग्न जाँदा ‘यसपालि बजेटमा थिएन्, सचिवज्यूलाई भनेर बजेट ल्याएँ’ भन्यो भने उसलाई ताली पनि बच्छ र उसलाई भोट पनि आउँछ तर यही कुरा उन्नत लोकतन्त्रमा गएर मैले भनेँ भने मलाई कानुन लाग्छ । किनभने संसद्ले पारित गरेको बजेटमा नभएको कार्यक्रम मैले मिलाएर मेरो मतदातालाई खुसी बनाउनलाई ल्याएँ भने मलाई कानुन लाग्छ ।

त्यो करदाताहरूको पैसा हो । यहाँ एउटा सांसद वा मन्त्री खराब वा असल कुरा होइन । हामीकहाँ भएको यो प्रवृत्ति र समस्यालाई समाधान गर्नका लागि केही कानुनको वा नीतिगत व्यवस्था गर्न सक्छौँ कि भन्ने कुरा हो । समस्या कहाँ छ र त्यसको हल कसरी गर्ने भन्दै गयो भने समस्याको हल पनि निस्किन्छ । हामीले जसरी काम गर्नु पर्ने हो त्यसरी किन काम गर्न सकिरहेका छैनौँ ? हामी कहाँनीर चुकिरहेका छौँ ? भन्ने कुराहरूको यस्ता कर्णाली उत्सवजस्ता फोरममा हामीले बहस गर्न पाउनुपर्छ ।

थोरै समयमा थोरै स्रोतमा असीमित आकांक्षाहरू सिर्जनशीलता भयो भने मात्रै पुरा हुन सक्छन् । त्यसैले सिर्जनशीलतालाई कसरी राख्ने भन्ने कुरा हाम्रो दलभित्र छलफलको एजेन्डा नै बनेन। विद्यालय संख्या पनि त्यही हो शिक्षक संख्या पनि उही नै हो र एक जना शिक्षक पनि तलमाथि गर्याे भने अदालतले पुनस्र्थापना गरिदिन्छ। विद्यालय गाउँबाट सार्याे भने गाउँमा आन्दोलन हुन्छ । यो परिवेशमा पाँच वर्षमा नेपालको शिक्षामा ठूलो परिवर्तन ल्याउनका लागि नेतृत्वले के सिर्जनशीलता राख्ने भन्ने कुरा हामीले कहिल्यै पनि छलफल गरेनौँ । त्यसैले यस्ता महŒवपूर्ण विषयहरू राजनीतिक दलको एजेन्डाभित्र पार्नुपर्छ ।

Leave a Comment