डा. टिकाराम गौतम, समाजशास्त्री

डा. टिकाराम गौतम
समाजशास्त्री

धेरै समयअघिको कर्णालीको मुख्य ठाउँ जसलाई ‘हाट सिँजा’ भनिन्छ, जोसँग जोडिएर हामी अहिले कर्णालीलाई चिन्छौँ । त्यहाँ भित्रको बाडो, थाडो र ओटालो बनाउने बेलामा त्यहाँ बसेका मान्छेहरूले केही न केही आपसी सल्लाह गरे । मान्छे त्यहाँ आउनेबित्तिकै जुन भूगोलमा उनीहरु प्रवेश गरे, हामी कहाँ बस्ने हो? के चिज उब्जाउने हो? कसरी खाने हो? एउटाले अर्कोलाई मद्दत कसरी गर्ने हो? भन्ने अन्तरक्रियात्मक सम्बन्धले वास्तवमा भू–उपयोग नीति बन्यो । त्यसैले बाडो जन्मियो । अनि घर, थाडो र ओटालो बन्यो ।

व्यवस्थित बस्ती बस्नुअघि त्यस स्थानलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने छलफल हुन्छ नै । अन्नपात वा फलफूल उत्पादन कहाँ गर्ने, कसरी सामाजिक कल्याण गर्ने आदि विषयमा पक्कै छलफल हुन्थ्यो । अहिले सरकारले जुन भू–उपयोग नीति भनेर भनिरहेको छ, त्यो बेलाको नीति बस्तीका सदस्यहरुलेनै तय गर्दथे ।

वास्तवमा विभेद र असमानतालाई अलग अलग बुझ्यो भने कुरा गर्न सजिलो हुन्छ । कुनै ठाउँमा उपलब्ध हुने विभिन्न खालका अवसर र स्रोत साधनमा व्यक्ति वा घरपरिवारको पहुँच हुने वा नहुने कुरा असमानतासँग जोडियो । नागरिकहरूले एक अर्कालाई कस्तो खालको व्यवहार गर्ने त्यो व्यवहारसँग जोडिएको कुरा विभेद हो । त्यसैले हामीले विभेद र असमानताको कुरा गरिरहँदा फरक–फरक पाटोबाट हेरेर चर्चा गर्यौँ, हेर्यौँ भने त्यसलाई समाधान गर्न पनि सजिलो हुन्छ । त्यसरी जाँदा बिभेदको कारणहरू पनि पत्ता लगाउन सजिलो हुन्छ ।
स्रोतसाधनमाथि पहुँचको असमानता जहाँतहीँ हुन्छ । हामीले सिङ्गो नेपालभित्र देखिएको समस्यालाई कर्णालीभित्र राखेर हेर्दा के देखिन्छ त? कर्णालीको असमानता कस्तो छ त भनेर हेर्ने हो । कर्णालीभित्र पनि शिक्षा, स्वास्थ्य, रोजगारी, आम्दानी वा अन्य अवसरमा असमानता होला । यसरी हेर्दा तुलनात्मक रुपमा कर्णाली पछाडी परेको देखिन्छ ।

कर्णालीमा यो खालको असमानता हिजो पनि थियो । उदाहरणको लागि त्यति बेलाका धनीहरू, हुने खानेहरूको घर तीन–चार तला हुन्थ्यो । कमजोर घरपरिवारहरूको दुई तले हुन्थ्यो । सँगसँगै त्यो बेलाको उत्पादन गर्ने जमिनमा समेत असमानता हुन्थ्यो । यदि हामीले घरभित्र पनि के कुरा पाक्थ्यो भनेर हेर्यौं भने, कहीँ चामल पाकेको हुन्थ्यो होला, कहीँ कोदो पाकेको हुन्थ्यो होला । अहिलेको अवस्था हिजोजस्तो छैन । आजको बाडो बेग्लै छ । घरहरु अलग अलग छन् । स्रोतसाधनमा पहुँच र प्रविधिको प्रयोगले धेरै परिवर्तन ल्याएको छ । तर आधुनिकताले जन्माएको प्रविधि र अवसरबाट पनि केही अझै बञ्चित छन् । त्यहाँ बढी असमानता छ ।

त्यस कारण अबको प्रश्न भनेको जो माथि पुग्न सकेन त्यो किन पछाडि पर्यो भन्ने हो । अर्कोतिर असमानतासंगै विभेद पनि छ । कर्णालीमा जातीय, लैंगिक तथा वर्गीय विभेद कायमै छ । विभिन्न सामाजिक मान्यता र कुरीति अभ्यासमा छन् । विभेदको जरा स्रोतसाधन र अवसरको पहुँचसँग मात्र जोडिएको छैन । यो हाम्रो समाजमा कहीँ न कहीँ बलियो भएर रहेको मूल्य मान्यता र त्योसँग जोडिएको आस्था र विश्वाससँग जोडिएको कुरा पनि हो ।
वास्तवमा चेतना फेरिने भनेको हाम्रो आस्था वा सोचमा परिवर्तन आउनु हो । त्यो सोचले मात्रै हाम्रो व्यवहारमा परिवर्तन ल्याउने हो । त्यसकारण हाम्रो समाजमा पहिलेदेखी नै दलित र गैरदलितबीचको सम्बन्धको स्वरूप रह्यो । त्यो सम्बन्धको स्वरूपमा परिवर्तन ल्याउन जरुरी छ । परिवर्तनका लागि अवसर र पहुँचमा सबैलाई जोड्नुपर्यो ।

वास्तवमा कर्णालीको विभेद र असमानतालाई सामान्यकृत गर्न सकिँदैन भन्ने लाग्छ । किनभने समाज विशेष र ठाउँ विशेष यी असमानताहरूको प्रकृति फरक–फरक छ । त्यसको स्वरूप फरक छ । त्यसकारण प्रदेश र स्थानीय योजनामा नै स्थानीय विशेषतालाई समेट्नुपर्छ । स्थानीय निकायको आवश्यकता महसुस त्यसैकारणले भएको हो । यसले खास खास ठाउँको समस्या केलाउन तथा स्रोत साधनको प्रयोगमा उचित नीति अवलम्वन गर्न सक्छ ।

हरेक समुदायका आ–आफ्नै समस्या र सम्भावना छन् । यसका लागि अनुसन्धानमा आधारित नीति र कार्यक्रम बनाउनु जरुरी छ । विशिष्ट समस्या समाधानका लागि विशिष्ट कार्यक्रम हुनुपर्छ । योजना कार्यान्वयनमा सकेसम्म स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्न सक्ने हो भने त्यसले आत्मनिर्भरता पनि बढाउँछ । हिजोको बाडो निश्चित वंशज वा खास थरमा आधारित हुन्थ्यो भने आजको बाडो मिश्रित प्रकृतिको छ ।

कतिपय शहरहरूमा एउटाको घरको माथि अर्कोले घर बनाउने चलन पनि छ । जग्गा सिमित हुँदै जाँदा भोलिका दिनमा हाम्रा विभिन्न शहरहरूमा पनि यस्तो नहोला भन्न सकिन्न । त्यो अवस्थामा पनि कर्णालीको बाडो, थाडो र ओटालोको विचार सान्दर्भिक नै हुन्छ होला ।

Leave a Comment