‘मूल कुडा’ :  पत्रकारिता बहस

कलेन्द्र सेजुवाल

केन्द्रिय कोषाध्यक्ष 

नेपाल पत्रकार महासङ्घ 

 

‘कुडा कर्णालीका’ कर्णाली उत्सवको मूल मर्म हो । कुडा अथवा कुराकानी, यो आफैँमा सञ्चारको एक उत्कृष्ट कला हो । र, सञ्चारलाई सहजीकरण गर्ने माध्यम हो– पत्रकारिता । त्यसैले समग्र कर्णालीबारे कुराकानी गर्ने मूल थलो कर्णाली उत्सवमा पत्रकारिता बहस ‘मूल–कुडा’ बन्न पुगेको छ ।

 

कर्णाली भन्ने बित्तिकै थुप्रै प्रतिकूलताको प्रदेशको बिम्ब आउने गर्दछ । यहाँको पत्रकारिता पञ्चायतकालीन राजनीतिक प्रतिकूलतामा जन्मियो । जब जन्मियो, यसले राजनीतिक मात्र होइन, आर्थिक, सामाजिक, प्राविधिक, भौगोलिकलगायत थुप्रै विषमता सामना गर्नुपर्‍यो । महानन्द देवकोटा, प्रेम कैदीजस्ता अग्रज पत्रकारको विरासतसँग जोडिएको कर्णालीको पत्रकारितारूपी बगैँचामा अहिले झन्डै १ हजार पत्रकार समाचार–कर्म गरिरहेका छन् । त्यति मात्र होइन, काठमाडौँसँग परनिर्भर यहाँको पत्रकारिता अहिले आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको छ । छापा, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमको तीव्र विकासले कर्णालीको पत्रकारितालाई समृद्ध बनाएको छ । सयौँ पत्रकारले दिनहुँ पत्रकारितामा सक्रिय अभ्यास गरिरहेका छन् । मध्य पश्चिमाञ्चल विश्वविद्यालयले पत्रकारितामा प्राज्ञिक जनशक्ति उत्पादन गरिरहेको छ । त्यसैले पनि कर्णालीको पत्रकारिता परिपक्व र परिष्कृत हुँदै गएकोमा कुनै शङ्का छैन ।

 

२०७२ को संविधान कार्यान्वयन भएसँगै देश सङ्घीयतामा गएको छ । सङ्घीयताले राज्यको शक्तिका स्रोतलाई सिंहदरबारबाट गाउँसम्म ल्याएको छ । प्रदेश र स्थानीय तहमा जनताका अधिकार र स्रोत–साधन आइपुगेका छन् । सङ्घीयताले कर्णालीजस्तो प्रतिकूलताको पर्याय बनेको प्रदेशलाई पनि थुप्रै सम्भावना ल्याइदिएको छ । अब सङ्घीयताले ल्याएका यिनै सम्भावनालाई सार्थक तुल्याउन कर्णालीको पत्रकारिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।

 

निश्चय नै, समग्र कर्णालीले जस्तै कर्णालीको पत्रकारिताले पनि थुप्रै प्रतिकूलताको सामना गरिरहेको छ । आन्तरिक र बाह्य चुनौतीले च्यापिएको छ यहाँको पत्रकारिता । एकातिर पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षा र प्रेस स्वतन्त्रताको सवाल सधैँ चिन्ताको विषय हुने गर्दछ भने अर्कोतिर मिडियाको विकास तथा प्रवर्द्धनमा अनेक खाले चुनौती रहेका छन् । प्रदेश सरकार स्थापनासँगै नेपाल पत्रकार महासङ्घले समग्र कर्णालीको पत्रकारिता र पत्रकारको सर्वाङ्गीण विकासको लागि माग राखेर यथोचित सहयोगको अपेक्षा नगरेको होइन, तर सरकारबाट अपेक्षाकृत काम हुन सकेन । पत्रकारको वृत्ति विकासको लागि आवश्यक संरचनागत व्यवस्था, पत्रकार तथा सञ्चार गृहलाई राहतका कार्यक्रम, आर्थिक अनुदान तथा सुविधाबारे ठोस योजना सरकारले ल्याउन सकेको देखिएन । बरु प्रदेश र स्थानीय तहमा धमाधम मिडियासम्बन्धी कानुनहरू बनेका छन् । मुख्य सरोकारवाला निकाय नेपाल पत्रकार महासङ्घसँग समन्वय नगरेर बनेका त्यस्ता कानुनले प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रको विकासमा दीर्घकालीन असर पार्ने निश्चित छ ।

 

पत्रकारिताको सबल पक्षको कुरा गर्दै गर्दा यस क्षेत्रका कमजोरी वा दोषबारे पनि बोल्नै पर्छ । पत्रकार आचारसंहिता पालनामा अभाव, पत्रकारिताका आधारभूत मूल्य मान्यताको अवमूल्यन, व्यावसायिक पत्रकारिताका नाममा अपारदर्शी आर्थिक गतिविधिजस्ता आलोचनाहरू कर्णालीको पत्रकारिता क्षेत्रले खेप्दै आएको छ । पत्रकारिता समाजप्रति उत्तरदायी पेसा हो । मूलभूत रूपमा यसको जनताप्रति जबाफदेहिता हुने गर्दछ । तर पछिल्लो समय यसले जनताबाटै आलोचना खेप्नु परिरहेको छ । यसतर्फ कर्णालीको पत्रकारिता क्षेत्रले गम्भीर भएर सोच्नै पर्दछ ।

 

अन्त्यमा,

कर्णाली उत्सव कर्णालीका विविध मुद्दामा खुलेर बहस गर्ने थलो हो ।

यहाँ हुने बहसले समग्र कर्णालीको समृद्धिको लागि ‘एजेन्डा सेटिङ’ को काम गर्ने अपेक्षा गर्न सकिन्छ । त्यसर्थ यस उत्सवमा कर्णालीको पत्रकारिताबारे पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चर्चा हुने नै छ, जसले पत्रकारिताको विकास र पत्रकारिताले कर्णालीको समग्र विकासमा टेवा पुर्‍याउन सकोस् ।

धन्यवाद ।

 

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events