
डा. दीपेन्द्र रोकाया
सदस्य, कर्णाली प्रदेश योजना आयोग
विषय प्रवेश
एकै घरका भाईहरु छुटिंदा तत्काल त्यस घरमा बार लगाइन्छ । त्यो बार हो भने यस्तै धेरै घरमा हुँदा बारा हुन्छ । त्यो बाग्लो बारालाई पछिल्ला दिनहरुमा बडा भन्दै त्यसबाट सापटी लिएर वडा भन्न थालेका छौं । वडा भनेर स्थापित गराउन त्यसै बाराको देन छ । त्यसैले बाडो भन्दापनि बारो भन्नु पर्छ कि! यसका लागि अध्ययन गर्न चाहनेलाई हुम्लाको ठेहे गाउँ निकै उपयोगी हुने ठान्दछु ।
हिमालय क्षेत्र मुनीका बस्तीहरुमा प्रायः मुण्डा घरहरु भेटिन्छन् । त्यसलाई हामी एकलाई थारो र धेरै भए थारा भन्छौं । थारो समथर र चारकुने हुन्छ । थारामा खलो चुट्ने, बिस्कुन सुकाउनेदेखि कचहरी बस्नलाई सहज हुन्छ । त्यो इन्जिनियरिङको विशेष खोज हुन जरुरी छ । यस्तो बन्नुमा वातावरणीय पक्षले ठूलै भूमिका खेलेको पाइन्छ ।
पृथ्वीमा जग हालिएको कोठालाई पशु वस्तु बसाल्ने गोठ मानिन्छ । गोठमाथि बनेको तलालाई मात्र घर मानिन्छ । त्यस माथिको तलालाई पाँण भनिन्छ । पाँणलाई स्वर्ग मानी देउताको थान राख्ने र पाहुना आउँदा बसालिन्छ । यसका अलवा कतिपय ठाउँमा त्यसमाथि घाँसपात, दाउरा वा खानेकुरा सुकाएर राख्न नार्या वा धुरी बनाइएको पाइन्छ । त्यहाँ राता र सेता ध्वजा बाँधिएको लुङरो ठड्याइन्छ । जसलाई वायुमार्ग मान्निन्छ । यसरी बनेका मुण्डा घरलाई कतिपयले सिधै गरिबको सूचीमा चढाउने गर्दछन् । यो सरासर गलत हो ।
शहरतिर ठूलो घडेरी हुनेको आँगन हुन्छ । कसैले बरण्डा निकालेको देखिन्छ । साविकको कर्नालीमा घरको मूल ढोकानेर बनाइएको सानो थारोलाई कोही ओटालो भन्छन् भने कोही त्यसलाई होटालो पनि भन्छन् । अतः बाडो र थाडोमा ‘‘ड’’ होइन ‘‘र’’ उल्लेख गर्दा सही हुन्छ भन्ने लागेको छ । कतिपय कुरा लेख्दै जाँदा स्थापित हुने रहेछ । यही ‘‘ड’’ ले म जन्मेको पालिकाको नाम पनि बिग्रेको छ । ‘‘सर्की’’ र ‘‘गार’’ लाई जोडेर नामाकरण भएको सर्कीगारलाई अचेल सर्केगाड भन्ने गरिएको छ ।
घनघश्याको उकालो लेख्दै गर्दा डा. तारानाथ शर्माले ‘‘बाटामी गाड पडन्छ’’ भनी उल्लेख गरेपछि ‘‘गार’’ को सट्टा ‘‘गाड’’ लेख्न थालिएको देखिन्छ । गार गारो शब्दबाट उत्पत्ति भएको हो ।
यस्तो कयौं ठाउँमा शब्द बिग्रिंदै गएको देखिन्छ । करङजस्तो नलीमा बग्ने पानीले कर्नालजस्तो आवाज दिन्छ । यसैले बोल्दा कर्नाली हुन्छ तर कर्णाली लेखिन्छ । शिजालाई सिँजा वा सिञ्जा लेखेको पाइन्छ । वास्तवमा शिवको ‘‘शि’’ र जालन्धरको ‘‘जा’’ बाट शिजा नामाकरण भएको हो । मइठो भन्छौं, मष्टो लेख्नुपरेको छ । धन्यालाई धने । मुन्यालाई मुने । बिर्क्यालाई बिर्के । कैयौं नाम सच्याउन पनि बोल्नै पर्छ कि? जसरी सिमिकोट होइन, सिमकोट हो भनी सच्यायौं ।
कर्नालीको बस्ती र मन
पत्रकार दिपा दाहालले डा. टिकाराम गौतम, गोविन्द नेपाली र मलाई कर्नालीका घरहरु जोडिएर त बनेका छन् तर मन मिलेका छन् त? मा बढी केन्द्रित गराउनुभयो । यसमा बढी गोविन्दजीले छुवाछुतको कुरा उठाउनुभयो । यसैले मन नमिलेको तर्क सुनाउनुभयो । समाजशास्त्री गौतमको तर्क आफ्नै प्रकारको छ ।
कर्नाली प्रदेशको भू–क्षेत्र ठूलो छ । बस्तीहरु छरिएका छन् । यद्यपि हिमाल मुन्तिरका गाउँहरु घनाबस्तीकै रुपमा छन् । पहाडमा आउँदा अलि खुकुला घरहरु भेटिन्छन् । हिमाली जिल्लामा कसैको आँगन कसैको थारा छन् । जोडिएका घरहरुमा लिस्नो ठड्याइएको छ । यही लिस्नो भएर सबैले ओहोरदोहोर गर्छन् । थारामा सबैको उठबस सँगै हुन्छ । जब घर पस्ने बेला आउँछ, कुकुरसमेत घरभित्र पस्दा एउटा दलितले दलित भएकै कारण घरभित्र पस्न पाउँदैन । यो समस्या एक हदसम्म माओवादी जनयुद्धले हल गरेको थियो । यसभित्र सामाजिक संरचना, मनोविज्ञान, उत्पादन सम्बन्ध र सम्पन्नताले काम गरेको पाइन्छ । उचनिचको कुरा गर्ने हो भने जसरी हाम्रो केन्द्रीय राजधानी काठमाडौंमा नेवार समूदायभित्र श्रेणी देखा पर्दछ, त्यस्तै श्रेणी दलित समूदायभित्र पनि छ ।
डोल्पाका कुलालहरु अझै दलितभित्र सूचीकृत हुन पाएका छैनन् । तिनीहरुको मन जोड्नुपर्दछ । तिनीहरुसँगै अरुको मन पनि जोड्नुपर्दछ ।
हिजोका कामीहरु इन्जिननियर हुन् । दर्जी र सार्कीहरु डिजाइनर हुन् । गन्धर्व, हुड्क्या र वादी सन्देश वाहक र मनोरञ्जन दिने सामाजिक कलाकार हुन् । हिजो उनीहरुलाई आफ्नो गाउँमा आलोथलो दिएर राख्न तछाडमछाड हुन्थ्यो । जसरी अहिले डाक्टर र इन्जिनियरलाई महत्व दिएर माग गर्ने गरिन्छ ।
जल, स्थल र वायुका ज्ञाताले आफ्नो सीपलाई जमाना अनुसार परिस्कृत गर्दै नजानाले कारखानाको मैलो तथा धेरैसँगको संगत र उपयोगितालाई देखाएर अछुत बनाउने समाज निर्माण भयो । यो कालान्तरमा छोइछिटो हाल्ने परम्परा बन्न थाल्यो । आय स्रोत घट्न थालेपछि काम गर्ने र माग्ने लगी प्रथा चल्यो । कर्मलाई भाग्यका रुपमा परिभाषित गर्न थालेपछि उपेक्षा र दमन गर्ने आधार बन्यो । कालान्तरमा दलित भनेर परिभाषित हुन पुग्यो ।
श्रम र सीपअनुसार विगतमा दलितको स्थान उच्च देखिन्छ । हरेक कर्ममा दमाई अगाडि लाग्ने परम्परा बस्नु यसैको नमूना हो । अरु त अरु कोही कसैको ग्रहदशा बिग्रेको छ भने दमाईसँग मित लगाउनुको पछाडि उनीहरु हिम्मतिला थिए भन्ने बोध हुन्छ । कर्नालीमा कामी, सार्की, दमाई र वादी भनेर छुट्याएर राखिएको जनसंख्यालाई जोडेर हेर्दा करिव २९ प्रतिशत पुग्छ । यहाँ गरिवी बढी देखिनुको मुख्य कारण उत्पादन गर्ने जमीन कम भएका दलित समूदाय धेरै हुनु हो । आज समाजमा सबभन्दा पछि परेको वर्ग र समूदाय दलित भएकाले उनीहरुलाई उठाउन जिविकोपार्जन र शिक्षामा लगानी गर्नुपर्ने देखिएको छ । यसैले कर्नाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले दलित मुलप्रवाहीकरण कार्यक्रम अगाडि सारेको छ ।
यसैगरी अरु सिमान्तकृत तथा पछि परेका वर्ग समूदाय उत्थानका कार्यक्रम मार्फत् अगाडि बढाइएको छ । हिमाली भोट्या लामा, थपाल्या व्यासी र कार्मारोङहरु पनि सूचीकृत हुनुपर्छ । यहाँका बाहुन र क्षेत्रीलाई झापा र स्याङ्जाका बाहुन र क्षेत्रीसँग तुलना गर्नु हुँदैन । जडान क्षेत्रका बासिन्दाले खसहरुलाई ‘‘टोपी टाल्या’’ भन्ने गर्दछन् । यसभित्र ठूलो अर्थ लुकेको छ । कुनैबेला सम्पन्न खासहरु टोपी समेत टालेर लगाउने स्थितिमा पुगेका थिए । मुल लुगा कुन हो भनी चिन्न नसकिने गरी टालै टालाले टालेको लुगा लगाएको र खाली खुट्टामा जिन्दगी बिताएको पुस्ता हामीले देखे भोगेकै कुरा हो । यसको मुल कारण खोतल्न कर्नालीको नलेखिएको इतिहास खोज्नुपर्छ ।
शिवभक्त नागराजले जुम्लाको पाल राज्य जितेपछि अहिलेको हाटशिजाको लामोथारा चौक्या बारामा कचहरी गरे । शिव र जालन्धर ऋषिको सम्झना र सम्मानमा शिजा नामाकरण भयो । गाउँ–ठाउँको रित बसाउन दैवी शक्तिलाई साक्षी राखी बाह्र भाई मइठाको सम्झनामा बाह्रदेउ स्थापित भयो । राज्य चलाउन प्रत्येक घरका एक जना राज्यको मान्छे हुनपर्ने परम्परा बस्यो । राज्य कोष निर्माण गर्न दे उठा व्यवस्था मिलाइयो । ‘‘दे’’ ले दिने र ‘‘उठा’’ ले उठाउने अर्थ दिन्छ । अर्को अर्थमा ‘‘देउ’’ ले माग्ने काम र ‘‘उठा’’ ले उठाउने कार्य बोध गराउँछ । यसैगरी भोट र मैदानी भागसम्म नुन, सुन, अन्न, ऊन र सुतीका लुगा तथा बाजको व्यापारले शिजा राज्य बलियो भएको थियो ।
शिजा राज्य पतन हुनुको कारण कोही होरिखोरी लामा (पद्मसम्भव) लाई शिजापति राजाले “हुने नहुने र नहुने हुने नाच’’ हेर्न चाहेको कुरा कर गरेर देखाउन लगाएका कारण एकाएक आकाशबाट मुसलधारे पानी परेको र त्यसैबेला आकाशबाट शिउबाघ जुध्दै आएर दरवार ध्वस्त पारेको कथा सुनाउँछन् । यो बिम्बात्मक कथाले राज्यशक्तिलाई खेलवाड गर्ने नाश हुन्छन् भन्ने देखाउँछ । कतिपयले राजा अभय मल्ल निःसन्तान भएकाले उनका उत्तराधिकारीले भाई भाग लगाएको कारण सुनाउँछन् ।
जेहोस्, शिजा राज्यलाई भाई भागमा लगाउँदा मेदिनी वर्माले जगतिपुर जाजरकोट, पिताम्वर वर्माले रुकुम, सुमेरु वर्माले सामाकोट सल्यान, संसारी वर्माले विलासपुर लिंदा ज्वाईं बलिराज शाहीले जुम्ला राज्य पाएका थिए । राज्यको ढुकुटी नभएको बेला बलिराजले दानसाँगुमा राजतिलक लगाएपछि छिनासिमबाट भैलो खेल्न लगाएर राज्यकोष निर्माण गरेका थिए । जसलाई अहिलेसम्म भैलो माग्दा हामी त्यसै आएनौ बलिराजले पठाएको भनेर दावी गर्ने गरिन्छ ।
जब जुम्ला नेपाल विस्तारको क्रममा कब्जामा पर्यो, त्यसपछि कर्नाली क्षेत्रले अकल्पनीय नियति भोग्न पर्यो । कर्नालीका सबै लोकस्वास्नी युद्धबन्दी नै भएपनि कालीपारीको मोर्चाहरुमा देशका लागि बहादुरीताका साथ लड्नु पर्यो । अधिकांशले अंग्रेजसँगको लडाइँमा ज्यान फाल्नु पर्यो । बाह्र वर्ष माथिका बिद्रोहीहरु नाग, चुल्ठो र गोर्खालीको सफायामा पर्नु पर्यो । बाल बालले बाँचेकाहरुले भित्ताको पनि कान हुन्छन् भन्ने डरले वास्तविकता आफ्ना सन्तानलाई भन्न सकेनन् । यसरी एउटा समृद्ध इतिहास नागराजको दे उठा व्यवस्था वैरागीएर दे उरा हुँदै दे उडा भन्ने अवस्थामा पुग्यो । वन पाखामा ठाडीभाका लगाएर धेरै कुरा भन्ने तर समाजमा बोल्न नसक्ने अवस्था सिर्जना भयो ।
माओवादी जनयुद्धले कर्नालीलाई जुरुक्कै उठाएको हो । संघीयता कर्नालीलाई चाहिएको थियो । यसैले हरेक क्षण कर्नालीले मूल्य चुकाउँदै आएको छ । अचेल धेरैले राजस्वलाई देखाएर संघीयता टिक्न सक्दैन भनीरहेको पाइन्छ । उनीहरुले लोकतन्त्र र संघीयताको सुन्दर पक्ष देख्न सकिरहेका छैनन् । हिजो नभएको विकास र नखुलेको मार्ग तथा नपाइएको अधिकारलाई तुलनात्मक रुपमा हेर्दा वास्तविकता अनुभूत गर्न सकिन्छ । पुराना कुरा सम्झने हो । अब मानव केन्द्रित विकासमा लाग्नु पर्दछ । सामाजिक न्यायका साथ शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि दिगो पूर्वाधार निर्माणमा ध्यान दिनु पर्दछ ।
गाउँ–शहर तथा बस्तीको विकास
सन्दर्भ बारो, थारो र ओटालोको हो । यो एकीकृत बस्तीसँग सम्बन्धित छ । कर्नालीमा अधिकांश ग्रामीण बस्तीहरू छन् । ती बस्तीहरू छरिएर रहेका छन् । तिनको लागि आधारभूत सेवा सुविधा पुर्याउन गाह्रो छ । भू–कम्पीय जोखिम पनि उस्तै छ । यसैले सुरक्षित गाउँ–शहर तथा बस्तीलाई आधुनिकीकरण गर्दै समृद्ध कर्नाली–सुखारी कर्नालीबासीको सपनालाई साकार पार्नुछ । यसका लागि एकाइसौँ शताब्दीको मौलिक विशेषता सहितको गाउँ–शहर तथा बस्तीको विकास गर्नुपर्छ । बस्तीको विकास गर्ने निकायहरूबीच आपसी समन्वय गर्नुपर्छ । बढ्दो जनसङ्ख्या र अब्यबस्थित बसाइँ सराईंको व्यवस्थापन हुनुपर्छ । यही मान्यता अघि सारेर २०७४ सालमा म र दिपकबहादुर बुढाले कर्नाली विकास आयोग जुम्लाबाट कर्नालीका चार जिल्लामा सुरक्षित एकीकृत बस्ती विकास सम्बन्धी अध्ययन गरेका थियौं ।
अहिले कर्नाली प्रदेश सरकारले समृद्धि र सुखका लागि आधारभूत सुविधा सहितको गाउँ–शहर तथा बस्तीको विकास गर्ने सोच अगाडि सारेको छ । मौलिक विशेषता सहितको आधुनिक गाउँ–शहर तथा एकीकृत बस्ती विकास गर्ने लक्ष्य राखेको छ । एकीकृत सेवा सुविधासहित सुरक्षित, वातावरणमैत्री र व्यवस्थित गाउँ–शहर तथा एकीकृत बस्तीको निर्माण गर्ने उद्देश्य राखेको छ । यो कसरी सम्भव हुन्छ? यही सोच, लक्ष्य र उद्देश्य पूरा गर्न आवश्यक रणनीति, कार्यनीति तथा कार्यक्रम तय भएको छ ।
गाउँ–शहर तथा एकीकृत बस्ती विकास कर्नाली प्रदेशको पहिलो प्राथमिकताभित्र पर्दछ । यसको मापदण्ड सहितको गुरुयोजना तयार गरी लागू गर्नुपर्छ । भू–उपयोगको अध्ययनको आधारमा हाल अठार लाख जनसंख्या भएको कर्नाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा स्मार्ट सिटी, शिजा र दुल्लुमा खस साँस्कृतिक पहिचानको शहर, चौरजहारी र राकमलाई मध्य पहाडी शहर तथा साविकका सदरमुकामहरुलाई आर्थिक केन्द्र शहरका रुपमा विकास गर्नुपर्छ ।
यसैगरी पालिका केन्द्रहरुलाई नयाँ साना शहर र करिव दुई सय गाउँलाई एकीकृत सुरक्षित बस्तीको रुपमा विकास गर्नुपर्छ । पर्यटनलाई ध्यान दिएर हुम्लाको न्यारी र मुगुको मुर्मा टपलाई स्मार्ट भिलेज बनाउनुपर्छ । जनता आवासबाट तीन हजार आवास निर्माण गर्नुपर्छ । रारामा गृष्मकालीन सदन र काठमाडौंमा कर्नाली सदन निर्माण गर्नुका साथै भूमिहिन सुकुम्वासी, वादी, मुक्त हलिया तथा लोपोन्मुख राउट्या समूदायको लागि सुरक्षित बस्ती व्यवस्थापन गर्नुपर्छ ।
यो कार्य भन्न जति सजिलो छ, कार्यान्वयन गर्न निकै कठीन छ । यही कठीनता र चुनौतिभित्र एउटा महान् सम्भावना लुकेको छ । यसैले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा निजी क्षेत्र र उपभोक्ताको समेत साझेदारीमा निर्माण गरे असम्भव भन्ने केही रहने छैन । सरोकारवालाहरुलाई भन्नैपर्ने कुरा के छ भने कर्नाली एकै दिनमा बन्ने छैन । यसका लागि निरन्तर लागि परेको खण्डमा क्रमशः सुरक्षित एकीकृत बस्ती बसाल्न सक्नेछौं । हामी सबैले आफ्नो क्षमता अनुसार साझेदारी गर्न सकेको खण्डमा समृद्धि ल्याउन सक्नेछौं । बस्ती र बस्तीको मन मिलाउन सकेको खण्डमा शान्ति कायम गर्न सक्नेछौं ।
सन्दर्भ सामाग्री
आचार्य, नारायणप्रसाद. (अनु.). (२०६८). वोल्गा से गंगातक. काठमाडौः नेपाली भाषा एवं व्याकरण संरक्षण प्रतिष्ठान नेपाल ।
कर्नाली प्रदेश सरकार. (२०७७). प्रथम पञ्चवर्षीय योजना. सुर्खेतः कर्नाली प्रदेश योजना आयोग ।
खनिया, प्रेमराज. (२०६८). बस्ती भूगोल. काठमाडौः विद्यार्थी पुस्तक भण्डार ।
गुरुङ, हर्क. (सन् २००८). मैले देखेको नेपाल. काठमाडौः हिमाल किताव ।
पोखरेल, बद्री. (२०७०). व्यवस्थापनका पाँच आयाम. काठमाडौः करीयर काउन्सिल सेन्टर प्रा.लि. ।
योगी, नरहरिनाथ. (सम्पा.). (२०७१). हिमवतखण्ड. काठमाडौः नई प्रकाशन ।
रोकाया, दीपेन्द्र र बुढा, दिपकबहादुर. (अप्रकाशित). कर्नालीको सुरक्षित एकीकृत बस्ती सम्बन्धी अध्ययन प्रतिवेदन. जुम्लाः कर्नाली विकास आयोग ।
