कर्णाली उत्सव उद्घाटन सत्रका अध्यक्षज्यू, कर्णाली प्रदेश सरकारका माननीय मन्त्रिज्युहरु, प्रदेश सभाका सदस्यज्युहरु, विश्वविद्यालयका उपकुलपतिज्यु, यस कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका सबै विशिष्ट महानुभावहरू, उपस्थित दाजुभाइ दिदीबहिनीहरू, कर्णाली उत्सवको छैटौँ संस्करणमा आमन्त्रण गरी शुभकामना राख्ने अवसर प्रदान गर्नु भएकोमा सर्वप्रथम आयोजक संस्थालाई प्रदेश सरकार र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिदैँ यो उत्सवको पूर्ण सफलताको कामना गर्दछु।
कर्णालीका बारेमा सुन्ने र सुनाउने तथा सरोकारवालाहरूको ध्यानाकर्षण गर्ने उद्देश्यले प्रारम्भ गरिएको यस उत्सवले पाँचौ संस्करण पुरा गरिसकेको छ। छैटौँ संस्करणसम्म आइपुग्दा उत्सवमा हालसम्म गरिएका विचार, मन्थनले कर्णालीको वास्तविक पहिचान बढाउने काममा सकारात्मक टेवा पुर्याएको मैले महसुस गरेको छु। त्यसका लागि आयोजक संस्था र यसमा संलग्न सबैलाई म धन्यवाद दिन चाहन्छु। सामाजिक रुपमा गरिने संवाद कुनै पनि सभ्य समाजको आधारभुत चरित्र हो। विचार र बहसले समस्याको सिर्जना होइन, समाधानका उपायको खोजी गर्नुपर्दछ। कर्णाली उत्सवको हरेक संस्करणमा गरिने विचारको मन्थनले समाधानका गन्तव्य खोजी गर्ने काममा प्रेरित रहोस् भन्ने यस अवसरमा म शुभकामना दिन चाहन्छु्।
कर्णाली बोल्नसाथ हाम्रो जनजिब्रोमा झुन्डीएको र कर्णालीवासीले मन पराएको कर्णालीलाई सम्झन्छौ, मनन गर्छौ र एकपटक पुगेर अनुभव गर्छौ भन्ने जोसुकैको मनमा लाग्न सक्छ। कर्णाली एउटा सभ्यता हो। यद्यपि म भन्दा अगाडि बोल्नु हुने मित्र आहुती जी ले केही कुरा हामी सबैका आगाडि राख्नु भएको छ। म त्यता तिर अहिले जान चाहान्न। ठुलाठला सहरका मानव सभ्यताको विकास नदी सँग जोडिएको छ। त्यस्तै नेपालका पुरा सभ्यता कर्णालीको वर कर्णाली नदीसँग जोडिएकोछ। कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ। कर्णाली प्रदेश मुलुकको एक अनुपम क्षेत्र हो, जहाँ सम्भावना नै सम्भावनाले भरिएको छ। कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली छ। भाषा, सभ्यता र संस्कृतिका रुपमा यहाँका भू-भाग ऐतिहासिक छन। नेपाली भाषाको उद्गमस्थलको रुपमा जुम्लाको सिंजा हाम्रो गौरव र पहिचान हो।
नेपाली भाषा, सभ्यता ,संस्कृति सिंजा बाटै सुरु भएकाले कर्णालीलाई विश्वभरका नेपाली भाषीले आफ्नो उद्गम थलोको रुपमा स्वीकार्ने गर्दछन। कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार छन। स्वर्ग भुमिको रुपमा परिचित कर्णालीको रारा सुन्दरताको वर्णन नगर्ने सायदै कमै होलान। आर्थिक, धार्मिक र सास्कृतिक दृष्टिले उत्तर र दक्षिणको व्यापारको ढोका कर्णाली मै छ। कर्णालीले मानसरोवर एवम मध्य एसिया पुग्ने शिल्क रोडलाई प्रतिनिधित्व गर्दछ। हिमाल, पहाड, नदि, वन-जङ्गल, कृषि भुमि लगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णाली मै छ। मानसरोवरमार्ग, शे-फोक्सुन्डो लगाएत सास्कृतिक र प्राकृतिक भुमिले कर्णालीलाई राष्ट्रिय मात्रै होइन, अन्तराष्ट्रिय पहिचान बढाउन मद्दत गरेको अवस्था छ। यति हुँदा हुदै पनि दुखका साथ भन्नुपर्छ, कर्णाली भन्ने वित्तिकै दुर्गम, अभाव र विकट पहिचान बनाउने प्रचलित मान्यता यथावत छ।
बषौदेखि बनाईएको रोग, भोग र शोकको नकरात्मक विम्बले हामीलाई थिचोरिरहेको छ। के कर्णाली भन्ने वित्तिकै दुख र अभावको पहिचान मात्रै हो त? के कर्णाली सधै रोग, भोग, शोकको उपमा पाइने सहर हो त? कर्णालीलाई हिजोको हेयको दृष्टिले हेर्ने यस्ता नकारात्क सुचक र मानसिकता के हामीले बदल्न सक्दैनौ र? यो उत्सवमा यस्ता विषयमा छलफल र बहसको विषय बन्ने मैले विश्वास लिएको छु। कर्णालीलाई समस्याको खाल्डो बनाउने काम भयो तर सम्भावनाको सरोवर बनाउने काममा हामीले ध्यान पुर्याउन सकेनौ कि? मेरो विचारमा यस विषयमा पनि हामीले गम्भिर भएर समिक्षा र छलफल गरौ। कर्णाली विकास र संवृद्दिसँग जोडिएको हरेक सकारात्मक पहलमा मेरो तर्फबाट सक्दो प्रयत्न रहने म यहाँ सबैका अगाडि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादनको हिसाबले कर्णाली पछाडि छ। पुराना परम्परामा बाँधिएको छ। सुधार उन्मुख हुँदाहुँदै पनि कतिपय सामाजिक सुचाङ्कहरु दयनीय अवस्थामा छन्। पछ्यौटेपन र बेरोजगारी अवस्थाले हाम्रा नागरिकलाई थिचिरहेको छ। व्यवस्थित बनाउन नसक्दा कर्णालीका कतिपय सडक मार्गको अवस्था विजोक छ। केहि सामाजिक जड्तामा समाज बाजिरहेको छ। धार्मिक अन्धविश्वास र अनावश्यक मान्यताबाट माथि उठ्न नसकेको पनि सत्य हो। तर आम नागरिकहरुले भन्ने गरेको र बुझ्ने गरेको भन्दा कर्णाली निकै भिन्न छ। कर्णाली हेर्ने र बुझ्ने दृष्टिकोर्ण जे सतहमा आएको छ, त्यो सत्य होईन। यहाँका नागरिकले यस्तो सुन्दर कर्णालीको नाम लिदाँ लघुदाभाष गर्नुपर्ने कुनै कारण छैन। बरु कर्णाली सौन्दर्यता प्रति उच्चता भाष गर्नुपर्दछ। कर्णाली दुःखको घाउ मात्रै होइन, सम्भावनाको मलम पनि हो भन्ने बिषयलाई हामी सबैले बुझ्न र बझाउन सक्नुपर्दछ।
कर्णालीमा गर्नुपर्ने थुप्रै विषयहरु छन। निति निर्माण गर्ने तहबाट थुप्रै विषयमा ध्यान पुगेन र पुगाउन सकेनौ पनि होला। हिजो देखिका थुप्रै विषयलाई सुधार गर्नुपर्नेछ। तर यदि हुँदाहँदै पनि कर्णाली हिजोको जस्तो कर्णालीको रुपमा बुझ्ने र बुझाउने कामलाई अब हामी सबैले आ-आफ्नो तर्फबाट सुधार गर्दै लैजानुपर्छ भन्ने मलाई लाग्दछ। पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकहरुले भन्छ, कर्णाली हिजोको जस्तो रोग, भोग र शोकको पर्याय होईन। अब कर्णाली दुःखका गीत, कविता र गजल लेख्ने विम्ब होईन। विकास र सम्बृद्धिका साहित्य रस लेख्न बाध्य बनाउने अवस्था सिर्जना गर्न साझा अभियानको थालनी म यसै मञ्चबाट सबैसँग आहाव्न गर्न चाहन्छु। विकास र संवृद्दिप्रतिको नागरिका तिब्र चाहना र आकाङक्षा छन। अन्यत्रको तुलनामा विकास र सम्बृद्धिको हिसाबले हामी यतिबेला सम्बृद्धशाली भईसक्नुपर्ने थियो।
छिमेकी मुलुकहरुमा भएको तिब्र विकासको परिकल्पना गर्नु हाम्रो कुनै दोष होईन। अहिलेको भन्दा धेरै नै पहिला गर्नुपर्ने थियो। तर केही हुँदै भएन भन्ने जुन लघुताभास सिर्जना गर्न खोजिएको छ, त्यो सत्य होईन। मुलुक नै बर्बाद भयो भन्ने जुन खालको नकरात्मक भाष्य सिर्जना गरिएको छ, त्यसलाई बदल्न आफ्ना आचरण र व्यवहारमा सुधार गरी अब नागरिकलाई आशा र विश्वास दिलाउने अभियानको थालनी गर्न ढिलाई गर्नु हुँदैन भन्ने मलाई लाग्छ। मैले सरकारको नेतृत्व गर्दा वा जनप्रतिनिधि रहदाँ सधैँ भन्दै आएको छु। विकास र सम्बृद्धिको साझा अभियान हो। यो एकल प्रयासले मात्रै सम्भव छैन। कर्णालीको विकास र सम्बृद्धिको लागी गरिने इमानदार प्रयत्नमा यहाँ कोहि पनि सत्ता र प्रतिपक्ष हुनुपर्ने जरुरी मैले देख्दिन। मुलुक संघीय संरचनामा गइसकेपछि हामीले गक्ष अनुसारको शासन व्यवस्था सञ्चलान गरिरहेका छौ।
संविधानले तीनै तहका सरकारलाई परिभाषित जिम्मेवारी र अधिकारको व्यवस्था गरेको छ। यद्यपि संविधान अनुसार प्राप्त गर्नुपर्ने अधिकारका सम्बन्धमा कतिपय कानुनहरु नै बनेका छैनन। त्यसतर्फ पनि हामी सबैले प्रयत्न र दबाब दिन जरुरी म देख्दछु। सरकार भनेको सबै यसैले गर्ने हो भन्ने बुझाई नागरिकमा छ। सबै काम प्रदेश सरकारले गर्न सक्दैन र अधिकारक्षेत्र भित्र पनि पर्दैन। आफ्नो अधिकारक्षेत्र भित्र पर्ने कामहरु इमानदारिपुर्वक गर्ने र आफ्नो अधिकारक्षेत्र बाहिरका बिषयहरु संघीय सरकारलाइ महसुस गराउने दृढ अभियानमा म लागिरहेको छु। दलिय व्यवस्थामा जुनसुकै आलोचना गरेपनि राज्य सञ्चालन गर्ने यही प्रणाली बाट निर्वाचित जनप्रतिनिधिहरु नै हुन। मैले सरकारको नेतृत्च गरेपछि कर्णालीको विकास र सम्बृद्धिलाई साझा बनाउनेको अभियानको थालनी स्वरुप राजनीतिक दलहरुको सर्वदलीय वैठकमार्फत यहाँका खास समस्याहरुको पहिचान गरी एउटै धारणा बनाउने कोशिस गरिरहेको छु।
संघीय सरकारले कर्णालीप्रति हेर्ने दृष्टिकोणहरुमा उपेक्षा थिए र छन पनि, तर त्यसलाई चिर्ने प्रयत्न र प्रयास गरिरहेका छौ। हाम्रो निरन्तर प्रयत्न पछि पछिल्लो पटक समाननीय प्रधानमन्त्री के.पी शर्मा ओली नेतृत्वको सरकारले कर्णालीका केही महत्वपुर्ण सडकको स्तरन्नतिको लागि अहिले सम्मकै धैरे बजेट विनियोजित गरेको छ। कर्णालीको भविष्यकोसँग जोडिएको कर्णाली करिडोर, भेरी करिडोर, गमगढी-नाक्चेनाग्ला सडक जस्ता रणनीतिक महत्वका सडकहरुको स्तरन्नति र सुधारमा उल्लेख्खेय बजेट विनियोजित भई काम अगाडि बढाउने प्रकृया भएको अवस्था छ। अनियमित विद्युतलाई नियमित गर्न १३२ के.बि विद्युत प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरन्नति गर्ने काममा केही नितिगत निर्णय र सुधारहरु भएको अवस्था छ।
कर्णाली प्रदेशको लक्ष्य भनेको विकास, सुधार र परिवर्तन हो। कर्णाली मुलुक सम्बृद्धिको मुहान बन्न सक्छ। कर्णालीको सम्बृद्धिमा जल, जमिन, पर्यटन, जडिबुटी, भेषभुषा, भाषा, सस्कृतिलाई हामी हाम्रो अनुकुलतामा विकास गर्न चाहन्छौ। यसमा सबैको हातेमालो जरुरी छ। कर्णाली विकासमा पछाडि पर्नुको कारण हिजोदेखि उपेक्षा हुँदै आएको तर कर्णाली बासीमा जाकरुताको कमी र उत्तरदायीत्वबाट पन्छिनु पर्ने र्को पनि कारण हो। सुधारका थुप्रै चुनौतीहरु हाम्रा सामु हुँदा हुदै कर्णालीको विकासको लागि क्रमभङ्गता हुने अवस्थाको सुरुवात भएको छ। यतिबेला सबैको साझा प्रयत्नबाट यो क्रमभङ्गतालाई उच्चतम विन्दुमा पुर्याएर सम्बृद्धिको मार्गचित्र कोर्ने साझा दायीत्व हामी सबैको काँधमा आएको छ। म यो मञ्चबाट सबैलाई आव्हान गर्न चाहन्छु।
सबैले आ-आफ्नो ठाँउबाट इमानदार प्रयत्न जारी राखौं। हाम्रो इमान्दार प्रयत्नबाट कर्णालीको सम्बृद्धि सम्भव छ। लोकतन्त्रको विकल्प अझ सहभागितामुलक उन्नत लोकतन्त्र नै हो। यसको विकल्पमा पारिवारिक वा वंश परम्पराको शासन व्यवस्था कदापी हुन सक्दैन। व्यक्तिका तमाम कमजोरीहरु होलान, सत्ता सञ्चालन र शासनमा आमुल सुधारको अपेक्षा होला। म त्यसलाई अन्यथा मान्दिन। आवधिक निर्वाचन मार्फत सार्वभौम नागरिकले यस्ता व्यक्तिलाई जनमतबाटै तिस्कार गर्न सक्ने व्यवस्था हामीले गरेका छौ। तर व्यक्ति विशेषका कमजोरीलाई लिएर व्यवस्था प्रति घृणा फैलाउने, नागरिलाई राज्य प्रति वितृष्णा जगाउने कामले न व्यवस्था बलियो हुन्छ, न नागरिकले सन्तुष्टि प्राप्त गर्न सक्छन।
यति भनिसके अन्तमा पुर्ववक्ता साथीले पनि धैरै कुरा भनिसक्नु भएको छ। म भन्दा अगाडि बोल्ने साथीका कुरा पनि कतिपय राम्रा छन। उहाँ आफ्नो मान्यता हो। तर म विनम्रतापुर्वक अनुरोध र आग्रह गर्न चाहन्छु। देशै विविधतायुक्त समाज हो। हाम्रा आ-आफ्ना संस्कृति छन, परम्पराहरु छन, मान्यताहरु छन, रितिरिवाजहरु छन। हामी परापुर्वकाल उत्पीडन पर्दापर्दै पनि सद्धभावले बाँचेको समाज हो। हामी कर्णाली सम्झिरहदा, कर्णाली नदी सम्झिरहदा हामीले यहाँ भित्रको विविधतालाई बिर्सिएका छैनौ, बिर्सन हुदैन र मुलुको सम्बृद्धिको बाटो एक्ला-एकलै सम्भव छैन। उत्पीडन अन्त्य हुनुपर्छ, अन्त्य हुने दिशामा अगाडि बढिरहेको छ। त्यसमा कतिपय कुरा संवैधानिक व्यवस्था गरिएको अवस्था छ। तर उत्पीडनलाई देखाएर द्धन्द सिर्जना गर्ने अनुभव पनि हामीले लिसक्यौ, प्रयोग भईसक्यो। त्यसबाट पनि देश अगाडि बढ्न सक्ने परिस्थिति निर्माण भएन।
त्यसकारण म सबै सँग के अनुरोध र आग्रह गर्न चाहान्छु भने, हामीसँग परापुर्वकालदेखिका कतिपय विभेदहरु छन, उत्पीडनहरु छन। ति कतिपय संवैधानिक रुपमा समधान भएको अवस्था छ। तर व्यवहारले अहिले पनि कतिपय कायम नै छ, किनकि हाम्रो तदअनुकुल ढङ्गको अर्थव्यवस्था विकास गर्न नसक्दा संविधानमा लेखिएका मौलिक अधिकारलाई पनि सरकारले पालना गर्न सकिरहेको छैन। जनताले उपयोग गर्न सकिरहेको अवस्था छैन। त्यसैलाई देखाएर विभेद अन्त्यको अभियानमा त लाग्यौ। तर द्धन्द बढाउने कुरा, द्धन्द बढाउने अभिव्यक्ति कति उपयुक्त हुन्छ? समीक्षा गरौं, यो अनुरोध र आग्रह गर्न चाहन्छु। यो संस्थासँग थुप्रै साथीहरु संलग्न हुनुहुन्छ। एउटा कुरामा म के कुरामा सहमत छु भने, अघि उहाँले भने जस्तै नेपालमा कुरा गर्नेको कुनै कमि छैन। केहि आकर्षक छ भने कार्यक्रम कुरा गर्नेहरु कै आकर्षक छ। मेरो छोटो अनुभवका आधारबाट, देशमा विकास साझेदारहरुको पनि कुनै अभाव छैन। बजेट नभए पनि यस्तामा बजेट आइहाल्दो रहेछ।
आज जरुरत छ, कर्णालीको अवस्था बदल्ने तपाईहरुको पनि चाहना छ भने, विषय केन्द्रित अघि आहुतिले भने जस्तै मल कारखाना खोल्ने हो कि, बिजुली उत्पादन गर्ने हो कि, बिषय केन्द्रित बहस र छलफल चलाउने कुरा आज कर्णालीका निम्ति पहिलो र आवश्यकताको कुरा हो। अझै पनि सिकाउनुपर्ने, एड्भोकेसी गर्नु पर्ने थुप्रै कुरा होलान। अब नेपाली जनताले धेरै कुरा सिकिसकेका छन र सिकेका कुरा संवैधानिक रुपले व्यवस्था गरेको अवस्था छ। अहिलेको जरुरत र आवश्यकता संवैधानिक व्यवस्था अनुसार जनताले संविधानमा लेखिएको कुराको अधिकार प्रयोग गर्न सक्ने अवस्था निर्माण गर्ने कुरामा साथीहरुले बहस चलाइदिनु भयो भने सरकारलाई महत्वपुर्ण सहयोग गरेको वा तपाईहरु महत्वपुर्ण दायित्व पुरा गरेको हुन्थ्थो कि भन्ने मलाई लागेको छ।
यो अभियानमा संलग्न हुनेहरु म जस्ता सबै यस्ता सभा समारोहमा हाम्रो केही विमति देखिदैन तर आफैले प्रतिनिधित्व गरेको क्षेत्रमा आफैले अपेक्षा गरे अनुसारको सुधार भइरहेको छ कि छैन त भन्दा त्यहा त्यहि किसिमको सुधार भईराखेको छैन त? केवल जी लाई त धन्यवाद दिन्छु, यस्तो अभियानमा धरै पुर्व अनुभव बटुल्नु भएका साथीहरु लाई बेला बखतमा हामीले भेट्ने मौका पाईरहेका छौ। यस्तो अनुभुति पुर्व भएपछि मात्रै आउछ कि वर्तमानमा आउछ? अन्यथा नमान्नु होला, म तपाई मार्फत यस्तो साथीहरुलाई भन्न चाहन्छु, वर्तमानमा जति भुमिका गर्न सकियो, हामीले परिकल्पना गरेको समाज यसरी नै निर्माण गर्न सकिन्छ। अझ कर्णाली प्रदेश सरकारले धेरै गर्नुपर्ने छ, तर मुलतः तीनओटा कुरा हामी अगाडि वढिरहेका छौ। यहिँ यो समाजमा मैले भन्नुपर्छ। हामी राज्यबाट हेपिएकै छौ। प्रथमिकता परेकै छैनौ। तर हिजोको भन्दा हामी संयुक्त प्रयास गर्दै जाँदा, राज्यले सम्वोधन गर्नुपर्ने परिस्थितिमा पुग्दै छ, पुग्नुपर्छ, पुग्नुपर्ने हुन्छ। तर त्यसका निम्ति हाम्रो एक मात्रै साधन भनेको हाम्रो विचको साझा बुझाइ र एकता हो।
विकसित ठाँउका मान्छे विमतिका बाबजुद मिल्दा रहेछन। पछौटे समाजका मान्छे झगडा गरेपछि, निषेध गरेर घरमा पनि बोली बाराबार छ। त्यसको प्रकट समाजमा हुन्छ। पार्टी भित्र पनि बोली बाराबार छ। अनि हामी अर्कालाई सराप्ने अवस्था छ। तर प्रकृतिले बरदान गरेको सुन्दर कर्णालीलाई जित्ने अरु कुनै प्रदेशमा छैन। त्यो आत्मविश्वासका साथ त्यो वातावरण बनाउने कुरामा यो फोरमले विगत ५ बर्षदेखि छलफल चलाइ रहेको छ। यसले कर्णालीलाई छलफलको विषय बनाउनका निम्ति सहयोग पुगेकै अवस्था छ। तर फेरि पनि म अनुरोध गर्न चाहन्छु। आफ्नो तर्फबाट बदल्ने योजना हाम्रो साथमा हुन सक्यो भने कर्णालीलाई बदल्न सकिन्छ, समुन्त बनाउन सकिन्छ। त्यो अपेक्षाका साथ फेरी पनि म अनुरोध र आग्रह गर्न चाहन्छु कि यो कार्यक्रममा मार्फत कर्णालीले सकारात्मक सन्देश दिने छ।
तपाईले चलाउनु हुने विषय म अनुरोध गर्न चाहन्छु। हाम्रो विचमा सदभाव बढाउने होस्, हाम्रो विचमा उत्साह बढाउने होस्, हाम्रो बिचमा भरोसा बढाउने होस्, हाम्रो विचमा केही गर्ने कुरा होस् भन्ने गरी चलाई दिनुभयो भने त्यसले महत्वपुर्ण कुरा हुनेछ। गुरु बन्ने सजिलो रहेछ, अनुयायी बन्ने कुरा बडो कठिन कुरा रहेछ। नेपालमा गुरु बन्नेहरुको कुनै कमी छैन। त्यसभित्र म पनि पर्छु। तर मै अनुयायी बन्ने कुरा हुदा बडो कठिन कुरा हुँदोरहेछ। त्यसकारण आज म सबै साथीहरुलाई देश बनाउने हो भने गुरु बन्नेको संख्या होईन, अनुयायी बढाउने कुराको संख्या बढाउने अभियानमा लाग्न सकियो भने रुपान्तरण सम्भव छ, विकास सम्भव छ। तपाईले परिकल्पना गरेको कर्णाली बनाउने कुरामा प्रदेश सरकार सलग्न रहने, सहभागी हुने कुरा पनि तपाईहरुका विचमा राख्दै फेरी पनि यो कार्यक्रमको पुर्ण सफलताको कामना गरेर विदा हुन चाहन्छु, धन्यवाद।
