गोविन्द नेपाली, अध्येता, जुम्ला

गोविन्द नेपाली
अध्येता, जुम्ला

कर्णालीमा दर्जनौं विभेदहरू छन् । महिला–महिला बीचको विभेद, छुवाछुतको विभेद, धनी–गरिबबीचको विभेद, शिक्षित–अशिक्षित बीचको विभेद आदि । त्यसमा मुख्य विभेद बाडो, थाडो र ओटालोबीचको विभेद हो । मुख्यतया पानी चल्ने र नचल्ने बीचको विभेद हो ।
कर्णालीमा ठकुरीहरू छन् । ठकुरीहरूको बाडो, थाडो र ओटालो आफ्नै छ । क्षेत्रीहरू छन् । उनीहरुको पनि आफ्नै बाडो, थाडो र ओटालो छ । तामाङहरूको आफ्नै छ । दलितहरूको पनि आफ्नै छ । त्यसैले त्यो तीनवटा चिजलाई हेर्दा मन मिलेको छ । पानी चल्ने चल्नेको जात पनि मिलेको छ ।
उदाहरणको लागि क्षेत्रीहरूको बस्तीमा क्षेत्रीहरूकै बाडो, थाडो र ओटालो मिल्छ तर दलितसँग मिल्दैन । त्यहाँ विभेद भयो । दलित भित्र पनि पानी चल्ने र नचल्ने छ ।
कर्णालीमा बाडो, थाडो र ओटालोले सामाजिक परिवेशलाई एक किसिमले बन्धनमा बाँध्यो जुन सकारात्मक पक्ष हो । तर त्यसले कहाँ विभेद ल्याइदियो त भन्दा जसको पानी चल्दैन त्यो जहिले पनि ओटालो अर्थात् घरको छतभन्दा माथि वा त्यो भित्र जान पाउँदैन । जबसम्म ऊ त्योभित्र जान पाउँदैन उसले कहाँ महसुस गर्छ कि विभेद छैन भनेर ।
विभेदको कुरा गर्दा, जति मैले विभेद भोगेको छु त्यति उहाँहरूले भोग्नुभएको छैन । कर्मले के गर्न सकिन्छ? त्यति बेलाको इन्जिनियर एउटा दलित हो । जलसँग, जमीनसँग, वायुसँग दलितको कर्म जोडियो । दलितको धुन जोडियो । दलितको आश जोडियो । बास जोडियो । गास जोडियो । तर, दुःखले भन्नुपर्छ दलितको पानी जोडिएन ।
विभेदको अन्त्य गर्न विभेदको मूल जरालाई मैले चार एस (फोर एस) का आधारमा विश्लेषण गर्ने कोसिस गरेको छु । पहिलो, कर्णालीमा सीपलाई विभेद गरियो । पाठ, पूजा गर्नेलाई माथि राखियो ।
दोस्रो, समाजलाई उत्थान कसरी गर्ने भन्दा पनि समाजबाट ज्ञान कसरी लिने त्यो ज्ञानलाई आफूले ग्रहण गरेर मोज कसरी गर्ने भन्ने बारेमा सोचियो ।
तेस्रो, स्थिरता र आम्दानी सिर्जनालाई मुख्य पेशासँग जोडिएन । त्यो नजोडिएको कारणले दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्था तल पर्यो । जसले गर्दा दलित माथि आउन सकेन । ठूलो विभेद आयो ।
चौथो, सीप र जातलाई भिन्दा–भिन्दै राखियो । इन्जिनियरिङलाई सीपसँग जोडेको भए जाति हुन्थ्यो । सबै मानव एउटै हो ।
विभेद मिल्नलाई आत्मा मिल्नुपर्छ र चेतनाको ज्ञान फुक्नुपर्छ । जब चेतनालाई हामीले माथि उठाउन सकेनौं र यो चार एस लाई हामीले ठिक ठाउँमा लागू गर्न सकेनौं भने विभेद कायमै रहन्छ ।
विभेद न्यूनीकरणका लागि पहिले सीप र ज्ञानको लेनदेन हुनुपर्छ । जसले विभेदलाई एक किसिमले न्यूनीकरण गर्छ । यो कुरा राज्यको योजना प्रक्रियामा आउनुपर्छ । दोस्रो, चाहिने कुरालाई सहज तरिकाले, सहज ठाउँमा लिनका लागि सह अस्तित्वसहित सह भावना सहित उपचार हुनु जरुरी हुन्छ ।
तेस्रो, भावना–भावनाद्वारा भएको ज्ञान हस्तान्तरण हुनुपर्छ । त्यसले एक किसिमको सहजता ल्याउँछ र विभेद न्यूनीकरण गर्न सजिलो हुन्छ । चौथो, जुन हामीहरू एउटा वर्ग भित्र जालजस्तै भएर बसिराखेको छ त्यो जालबाट उन्मुक्ति दिनुपर्छ । यी कुराहरूलाई विचार गरियो भने विभेदलाई न्यूनीकरण गर्न सकिन्छ ।
कर्णाली प्रदेशमा चार लाख दुई हजार एक सय सैंतिस जना दलित छन् । जुन प्रदेशको कुल जनसंख्याको २३.७ प्रतिशत हो । मैले यहाँ बोलिरहँदा एक जना गोविन्दको भाव बोलेको होइन यी सम्पूर्ण कर्णालीका दलितहरूको भावनाको प्रतिनिधित्व गरेर बोलेको हो ।

Leave a Comment