खस कुरा-खास कुडा; किस्सा तन्नेरीका

सहजकर्ता (खन्टेखलास): सब्बैलाई जदौ नमसकार हजुर, निकै छौ क्या? भोकले आन्द्राभुडी सुकिगया क्या हो? डाको आउदैन त, कर्णालीको पावर यहि हो त?  पानी खायो भन्या पन बौलाउदाछन्। सब्बै ताली बजाओ एकखेरी, हा.., आज हामी का आका छौँ? गरी कुडाः कर्णालीका कुडा त छदै छ, त्यो भन्दा पनि ठुलो अझ गरी कुडा पनि आका छन् ए काठमान्डौँबाट, अब यीनलाई क्या सोध्ने हो? क्या  भन्ने हुन्? अब सबैका कुडा हामी सुन्नुपड्यो त क्या। हामी देख्दा बड्डा भयापनि उमेरका त भख्खरका हौ। अब तन्नेरीका कुडाकानी सुन्नुपड्यो भनेर बोलाका हुन्। अब हाम्रा कुडाकानी के हुदाँहुन,यसै त हुन्। अँ निकै छौ क्या माइल  दाई?

 

बासुदेव महत(गरी कुडा): दे हेर, गरी कुडा गरी कुडा, माइल  दाई त्या बाट यहाँ सम्म आयाछु,  निकै त छौ त दुबै जना।

 

सहजकर्ताः चौरी गाईको दुध खाएको पावर देखाल्यो बड्डाले दे।

 

बासुदेव महत(गरी कुडा): एकचोटि पख, म मेरा दाजुभाई न आज टाढाबाट भेट गर्याछु। जे भए नी आदर, सम्मान, ढोग भेट गरेलुँ। अनि दुई दाई भाई कुडा गरौँला, हामी चार दाजु भाई कुडा गरौँला है राम्मै सँग, कर्णालीका उब्जेका व्यथा क्या! सब्बैकन ढोग गरे है त साइनो अनुसार दाई, दिदी , बा-आमा, फुपु-फतिजा, भाई-भतिजा सब्बै आज यहाँ आयाछौ। म पनि कर्णालीको दुर्गम जिल्ला जुम्लाबाट आयाछु, भाई जुम्लाबाट आयाछ, बुइनी कालिकोटबाट आइछन्, तुमी अछामबाट आयाछौ। सब्बैकन हाम्रा तर्फबाट एकमुष्ट नमस्कार, ढोग गरे।

 

म बासुदेव महत, चन्दननाथ नगरपालिका वडा नं -३, अनि जन्म मेरो महत गाउँ, कर्म मेरो माथि बुद्धबाडा शान्तिनगर भन्ने अहिले के. टि. एस् लाइनमा पड्डोछ। त्यसैले एकचोटि मेरा दाजु भाई न असाध्यै माया लाग्या छियो। कर्णाली उत्सवले पनि भेट्ने एउटा मौका दियो। त्यो मकन जात्ती विधि राम्मो लाग्याछ। एकचोटि मेरो लागि जोडदारसँग ताली बजाइदिनु है दाजू भाई हो। यस्तो भेट कहिले हुने छियो, बाँचेर तुम्मा अगाडि आउन पाए। मैले घर बाटै तपाईसँग यस्तो नजिकको इस्ट मित्र जोड्न पाएँ। म असाध्यै खुसी छु। अनि आयोजकलाई पनि धेरै धेरै धन्यवाद छ। मलाई यहाँसम्म ल्याउने अवसर गर्नुभयो। आयोजक र अनि सम्पूर्ण यहाँ रहनुभएका अथितिगणहरु, मेरा मान्ने गुन्ने देवी देउता स्वरूप लिएका क्या, मन्त्रीहरु, मन्त्रीनीहरु, त्यस्तै गरेर अरू अरु हुनान त बुद्धिजीवीहरू सब्बैकन मेरा तर्फबाट र गरी कुडाको तर्फबाट सिर निहुराई ढोग गर्याँ, ताली बजाइदिनु होला।

 

सहजकर्ताः शिर निहुर्याई ढोग त गरेउ, सब्बै न सम्झेउ, आफ्नी जोई ल्याईन आयाको जोई कन पुडो बिर्स्यो। माइल दाई अहिल पछि बाँसका भाटाले भच्काउलिन लौडीले।

 

बासुदेव महत(गरी कुडा): दे हेर, गर्या कुडा गर्या कुडा, जोईकन पूडो पिट्न्या अरे, जोईकन अगाडि बोलाउन्या हैन हो। थाप्लामा टेक्दिछन् भोलि, क्या भयाउ होला अई।

 

सहजकर्ताः  पल्थिर मेरो नाति छ अझ, नबराज भण्डारी, गायक पनि हुन्। अब यी अहिलेका जमानामा यिनका बारेमा मैले किन भन्नेहो, आफ्नो परिचय आफै दिने, आफै कुडा गर्ने। त्यै भनौला भनिकन यहाँ बोलाको हो, लौ लाटा भन्।

 

नबराज भण्डारीः अँ, सब्बैकन जदौ छ, म नबराज भण्डारी, मेरो अलिकति पूरा रूपमा बैँस पनि ढल्क्या छैन र तन्नेरी पनि होइन जस्तो लाग्यो। आजभोलि १४/१५ वर्षमै तन्नेरी लाग्जाँदा छन्। मलाई न नेपाली भाषा राम्रो सँग आउन लाग्यो, न स्थानिय हाम्रो गाउँघरको खस भाषा खास्स खुस्स आउन लाग्यो। यता पनि बिर्सदै, उतापनि राम्रो सँग नसिक्ने अवस्था भइसक्या छ।दाजू जत्तिको त हामी हाम्रो दाजु जत्तिको, हजुरहरू जत्तिको हाम्रो खस भाषा, हाम्रो स्थानिय भाषा बोल्न नजाने पनि मैले पनि तपाईहरुको साथ सपोर्टले र जसरी जहाँ बाट काठमाडौँ बाट, हुम्लाबाट घुम्दै म सायद धेरै ठाउँ हिँड्दै डुल्दै गीत गाउँदै गए। अहिले यो माध्यम यो आजको कर्णाली उत्सवमा यहाँ तपाईहरुसँग भेट गराउने माध्यम बनायो।

 

कर्णाली उत्सवका सबै सबै आयोजक टीमलाई धेरै धेरै धन्यवाद। अनि सब्बै हाम्रो आफन्तजनहरु हुनुहुन्छ यसो हेर्दाखेरि, सब्बै चिनेका अनुहार, ढाका टोपी देख्दा बित्तिकै पक्कै मेरै दाई होलान्, मेरै काका होलान्, मेरै ठूला बा होलान् भन्ने लाग्छ। अनि अगाडिका सब्बै अथितिज्युहरु हुनुहुन्छ। सब्बै हाम्रै अग्रज व्यक्तित्व हुनुहुन्छ। सब्बै जान बुझ जानकार हुनुहुन्छ। एक त यहाँ हुम्ला, जुम्ला, कालिकोट, मुगुबाट, सुर्खेतको पनि कुना कन्दराबाट यहाँ सुर्खेतमा यो वीरेन्द्रनगरमा आइसकेपछि पक्कै पनि तपाईहरु सब्बै शिक्षित हुनुहुन्छ। कोही कोही अब बुढी आमाहरु, बुढा बुवाहरु पढ्न नसकेपनि हजुरहरुले धेरै कुरा सिक्नुभएको छ। हजुरहरुले सुर्खेत बसेर हुम्लाका कुरा गर्नुहुन्छ, डोल्पाका कुरा गर्नुहुन्छ, मुगुका कुरा गर्नुहुन्छ। यो आज छुट्टै सब्बैसँग माया बाँड्न पाउँदा एकदम खुसी लागेको छ। सबै सबै दाजुभाई आमाबुवा भयाभरी सब्बै सब्बैलाई साइनो अनुसार ढोग दिए।

 

सहजकर्ताः यो लाटो पनि बोल्नलाई उत्तिविधी गर्न लाग्यो हजुर। पल्थिन बाटी बसेकी कन बोल्न पड्दैन क्या? इब्सल उमेर बढिगयो, अगाडी नु आइगयो पिम्पल। अहिलेको हुनेत यस्तो छ त हजुर, इब्सल सञ्ज्याल। नानी गायिका छन्, उनको परिचय दिनदेऊ, त्या पछि सोध्ने कुडा अरु सोधौँला। हो कि नाई?

 

इब्सल सञ्ज्यालः हेलो, गीत गाउँदै…. (माथि रानी वन, माथि रानी वन, तल गया फाँटै फाँट माथि रानी वन! माथि रानी वन, माथि रानी वन! तल गया फाँटै फाँट माथि रानी वन। मेरो ठूलो मन, मेरो ठूलो मन, साईको ठूलो महल होला, मेरो ठूलो मन हिरु पटुकी बाधी फौडि दना दन, चल गोविन्दे पाइला मिलाई देउडा खेलौ, घुङ्ग्रु बजा छम की छम छम्। ए हे, चोखो माया पिरती लाइदे खेतबारी बाँझै छ हिरू पटुकी बाधी फौडी दना दन्।) अब यती भनिसक्दा चाहिँ मैले मेरो नाम भन्न पर्छ जस्तो त लागेन। की हो, भन्नुपर्छ? अलिकति आवाज आउनु पर्यो के, लौ न भोक त हामीलाई लाको हो क्या, हजुरहरुको तालीको, खोइ ताली बजाउनु त, एकचोटि ताली सुनम त सबैजना बाट, आज चाहिँ हामी अलिकति जेनेरेसन ग्याप पनि छ है।

 

मलाई एकदमै खुसी लागेको कुरा म भख्खर उम्रदै गरेको एउटा पालुवा अनि दाई अलिकति ठूलो हुनुहुन्छ, त्यसपछि बुढा मान्छे हुनुहुन्छ, त्यसपछि उहाँ अझै बुढा मान्छे बाजे पनि हुनुहुन्छ छेउमा। आज चाहिँ हामी कुडा कर्णालीका, मलाई त्यस्तो धेरै खस त ठ्याक्कै बोल्न आउँदैन। तर पनि मलाई जति आउँछ त्यति नै बोल्ने छु। अझ आज अत्यन्तै खुसीको कुरा मेरो आध्दा उद्धी परिवार यतै सुर्खेतमै छ। मेरो ड्याडी पनि आउनु भएको छ। एकचोटि उठीदिनुहोला ड्याडी, मेरो ड्याडी पछाडि हुनुहुन्छ। अनि मामा पनि आउनु भएको छ, बजे बज्यै पनि आउनु भएको छ। सब्बै जना यहाँ उपस्थित हुनुहुन्छ। सब्बै जना मेरो आफन्त जन नै पर्नुहुन्छ, सबै सबैजनालाई साइनो अनुसारको दर्शन, ढोग भन्न चाहन्छु। मलाई सम्झेर बोलाइदिनु भएकोमा कर्णाली उत्सवको सम्पूर्ण सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिनेछम् र अनुभव त एकछिनमा सुन्ने छम र सुनाउने छम्।

 

सहजकर्ताः ह.., कुडाकानी सुन्या, देक्या, यो गीत गाउँदा गाउँदै यो का टुपूर्ल्या भन्ने मैले थाह पाएको हूँ। रानी वन, रानी वन ५/६ खेरी भन्दाखेरि काठौदा बान्ना हुने त्यै वन भेटिने हो कि भन्दाछन्। ह.. , ए माइल दाई तमी पनि केही बोल पन त ए प्रभु।

 

बासुदेव महत(गरी कुडा): दे हेर, अब गरी कुडा गरी कुडा, यही छोरीको यही बानी ठीक नाई, बा कन ड्याडी भन्दीछ। इङ्लिस शब्दमा बोल्ली छ काँही, बाबा भन्दिनै,  आ…, यिनीहरू खस भाषा भन्ना छन्, हामीकन त्याई ड्याडी गरे, बाबा भन्न्या हो, आमा भन्न्या हो, दाइ भन्न्या हो, भाइ भतिजा भन्न्या हो। आफ्ना शब्दमा ड्याडी, मम्मी, अङ्कल, अन्टी, हालो भुन्याअरे, त्यासैन त्यही अलमलै कुरा अद्दिछ।

 

सहजकर्ताः माइला दाई तमीलेपन गल्ती बोल्या, बाबा किन भन्ने? अहिलेकी फल्यौटी त पोइलाई पनि बाबा भन्नीछन्। मेरा बुवा हुन् भन्नुपडो हो कि नाई?

 

 

बासुदेव महत(गरी कुडा): अनि गरे क्यान  पोइकन बाबा भन्नीछैत भा‌ओ भनि सोध्या मैले एकचोटी मेरै घरकी बड्डीकन सोध्या,  ड्याडी यो गर्नु न ,बाबा यो गर्नु न भनी, म तेरो बाबा हुँ?  म तेरो पोइ हुँ भन्यार, छोरीको बाबा होइनौ? हो त्यही छोरीको शब्द बोल्या हुँ भुनीक्या। सबै जना त्यही भन्नाउ कि जस्तो लाग्या छ। पाप हुन्छ, त्यो भुन्या हैन। श्रीमान र बरु बड्डौ भन्या भैगो। आ… अहिले बाबा भुन्यापया पछि त त्यो छोरीले बोल्न्या शब्द, अनि छोराले बोल्न्या शब्द भए न त अनि, त्याहीन अनि हामीले पनि आमा भुन्यापछि क्या भ त त्यो जोइ पोइको सम्बन्ध, त्याहिँ यहीथै कुडा गद्दाछौ क्या।

 

सहजकर्ताः त्यै नबिग्रियोस्, त्यही कुडो सप्रिउन, यी नराका केटाकेटी था पान्ना, बुझन्ना भनिकनत आज ह्याँ डाक्याको त हो त।

 

बासुदेव महत(गरी कुडा): हो सब्बैले आफ्नो खस कुडा गर्नुपडो, बाबा न बाबा भन्नुपडो, आमा न आमा भन्नुपडो, मामा न मामा भन्नुपडो, माइजुन कन माइजु भन्नुपडो। इङ्लिस शब्द अनी फादर, ड्याडी, ममी, एदरउधर भनन्ना र मेरा ई…,झोक उठ्ठान क्याद्दा।  इतिहास बिर्सिल्या लाग्दो छ त्यहीबेला। मकन यी जर्का आउना कारण यही हो, छोरो पढाए भनाएर घर आयो, ड्याडी भन्यो। ए, यो नगर ड्याडी भन्ने शब्द नगर, मेरा बाआमा न मुइले ड्याडी पनि भुन्या हैन, मु भन्नो भाषा जगाउँ, तो भन्नो भाषा दव्याउँ, क्यान गददो छै यहीथो? भुन्यार मुइले छोरा न हप्काएर अचेल बाबै ढोग गर्या भन्नो छ। हो, त्यस्तै सबैले सम्मान सिकाउनु पड्यो क्या।

 

सहजकर्ताःसिकाउनु पड्यो,अब जे जसो भयापन म चाहिँ इब्सल नातिनी ठौर गया, एक कोइसन के सोध्धोभया? कोइसन हो के त, प्रश्न सोध्दोभया। काइथी म पनि पुडो भुल्लिन लाग्यान के त।

 

बासुदेव महत(गरी कुडा): ए बड्डाले पनि आटे इङ्लिसै गरे कोइसन गरे, ह्वाट इज कोइसन?

 

सहजकर्ताः अब यस्सो क्या सोध्नुपड्यो भन्यापछि, हामी सुदूरपश्चिम, कर्णालीका मुन्छे हजुर, भन्याजसो सजिलो छैनप, बोल्या जसो सजिलो छैनप, हरूला सप्पैभन्दा हद्द कोही आछिनप, डाडु पन्यु तम्रै हात, नखा भन्या को छ, भन्दाखेरि पन हुँदैन। म इब्सल नानी ठाउँ गयाँ। जुन कलाकारिता गरिराछौ र आगामी दिनमा यहाँभन्दा पछि पनि धेरै गर्नु छ, त्यो ठाउँ कालिकोट सबैलाई थाहा भएकै ठाउँ, त्यति एउटा दुनियाले के भन्छ भने सुदूरपश्चिम, कर्णाली ठाउँ चाहिँ पिछडिएको भन्छन्। हामी पिछडिएको होइन, पछाडि पारिएको मात्रै हो, हामीसँग सबै चिज छ। त्यो ठाउँबाट उठेर राजधानीसम्म हाम्रो प्रतिस्पर्धा अरु सँग होइन, राजधानीसम्म पुगेर पनि आज देशविदेशका कार्यक्रममा जसरी पुग्याकी छौ, एकखेरि आफ्नो त्यो बाल्यकालबाट त्यहाँसम्म पुग्दाको कुडा सबै हाम्रा दाजुबहिनी, बुवाआमा कन भन्दिनु पड्न्या भयो।

 

इब्सल सञ्ज्यालः मेरो त्यति धेरै अनुभव त छैन, किनभने उमेर पनि सानै छ। म भर्खर अब उमेर त नभनिहालम है, त्यत्रो धेरै अनुभव पनि छैन, छन त। म जन्मेको बाजुरामा हो। मेरो ड्याडी पुरानो पत्रकार हुनुहुन्थ्यो। मेरो फ्यामिली एकदमै शिक्षित थियो। सबैभन्दा राम्रो कुरा अझै पनि मेरो फ्यामिलीमा बाजे पनि डाक्टर हुनुहुन्थ्यो, सुब्बा हुनुहुन्थ्यो, अङ्कलहरू पनि सबै सरकारी जागिरे हुनुहुन्छ। सबैजना शिक्षित हुनुहुन्थ्यो, तर पनि समाज कस्तो हुन्छ भने, हामी जस्तो समाजमा हुर्कियो त्यही मानसिकता हुन्छ के मान्छेको। हामी जस्तो समाजमा, जस्तो वातावरणमा हुर्कियौ, सबैजनाको त्यही मानसिकता हुन्छ। सहज त थिएन, पहिलो म्युजिक भिडियो गर्दैगर्दा मैले एस.ई.ई दिई सकेर मामा घर गएर मैले पहिलो म्युजिक भिडियो गर्दै गर्दा मलाई ड्याडीले फोन गरेर गाली गर्नुभएको हो। चिन्ता न हो, आमाबुबाको छोराछोरी भोलि आखिर आमा बुवा हाम्रै लागि त भन्ने त हो नि त हैन? अब भोलि छोराछोरीको यो चिजमा भविष्य छ कि छैन, उनीहरूले के गरेर खाने, उ त यो एउटा लाइनतिर लाग्यो।  अनि बिल्कुलै अलग लाइन थियो ।

इभन हाम्रो गाउँबाट त कोही पनि कलाकारहरू हुनुहुन्थेन नि त। पचालझरनाबाट रमेश दाई मात्रै हुनुहुन्थ्यो। रमेश दाई, कोही दाइहरू अथवा अग्रज दाईहरू हुनुहुन्थ्यो हुनत, तर केटी मान्छे त्यस्तो प्रतिनिधित्व गरेर आउने चाहिँ म्याक्सिमम कम हुनुहुन्थ्यो र म त्यो क्षेत्रमा लाग्दै गर्दा धेरैले राम्रो भन्नुभयो, धेरैले नराम्रो भन्नुभयो, समाजमा नाना थरी कुरा काटिए। एउटा कुरा चाहिँ के सिके भने, मैले चाहिँ सफल हुँदा जोले पनि हात मिलाउन आउँदो रहेछ क्या, सफल हुँदा चाहिँ जो पनि जस्तोसुकै मान्छे होस्, उसले जेसुकै जस्तोसुकै घृणित गरेको मान्छे होस्, हिजो मलाई एकदमै सपोर्ट नगरेको मान्छेपनि आज फलानो मेरो भतिजी हो, फलानो मेरो भदै हो भनेर आउनुहुन्छ। सफल भइराख्दा, तर सङ्घर्षको पिरियडमा चाहिँ कसैले पनि साथ नदिनुहुँदो रहेछ। मेरो मुखनिर चाहिँ एउटा कुरा गरेर मेरो पिठिउ पछाडि अर्को कुरा काट्नेको जमात थियो, नभाको होइन तर पनि यो गर्दैगर्दा, छिचोल्दै गर्दा, हिँड्दै गर्दा र संस्कार र संस्कृति जोगाउनुपर्छ भनेर हिँडेको हो म चाहिँ।

 

सहजकर्ताः त्यापछि यता वल्लापट्टिका चस्मा सस्मा लायका, ढाका टोपी हाल्याका, जोई ल्यै सकेका, अझपन ब्या अर्या छैन भनि दुईचार ठाउँ भन्दै छन् अझ। नाती नवराज भण्डारी ठौर पुगे, अब देख्नेलाई सजिलो छ, भन्नेलाई पन सजिलो छ, ए.. कलाकार भयाको छै। तलाई त क्या आपत पड्याको छ? ए… सबठौर घुम्याको छै, खायाको छै, तेरा जस्तो रमाइलो जिन्दगी कैको होला भनिकनपन भन्दा छन्, वास्तविक कुडो क्या हो भन्या पछि, हुम्ला जस्तो ठाउँमा जन्मिएर आफ्नो कला देउडा भाषालाई राजधानीसम्म पुगाउनका लागि कतिसम्म संघर्ष गर्नु पड्याको छ, त्यो तमीलाई मात्रै था होला, त्यही विषयमा पन भन्दिनुपड्यो।

 

नबराज भण्डारीः एक त हुम्ला भन्दा बित्तिकै विकटै भन्छन्, त्यो ठाउँ रोड मात्र नपुग्या हो, अरु एकदम परिपक्क छ। मान्छे हुम्ला भन्दा बित्तिकै विकट भन्छन्, त्यहाँको खान लाउन त्यही ठाउँकै आफै संघर्ष गरेर पुग्या हो। पछिल्लो चरणमा अहिले  खाद्यको लहलहैमा लागेर अहिले हाम्रो त्यहाँको उत्पादन सबै लगभग लगभग कम हुँदै गयो।  मेरो सांगीतिक यात्रा भन्दा पनि मेरो आफ्नो सङ्घर्ष मेरो पृष्ठभूमि एकदम सङ्घर्षपूर्ण बित्या हो। हाम्रो घरको कुनै पनि परिवारहरू अहिलेसम्म यो सरकारी जागिरे र कुनै पनि यो जे होस्, अलिकति केही आर्थिक आयस्रोतको एकदमै कम कमजोर भएको र म अहिले यहाँसम्म पुग्नको कारण पनि त्यही परिवारबाट हुर्केर म अहिलेसम्म हजुरले भन्नुभएको थियो, अहिलेसम्म कति सङ्घर्ष गर्नुभयो, के गर्नुभयो?  यति संघर्ष गर्दागर्दा लामो लामो कुरा धेरै लामो हुन्छ। त्यही जिरोबाटै अहिलेसम्म म जिरोबाट भर्खर  एकको पिछा गर्दैछु। मलाई एकबाट फेरि उल्टो फर्केर जिरो थपेर १० हुनु छैन। अझै अर्को जिरो थपेर १०० हुनु छैन। एकबाट सकियो भनेपछि, एक टिक्न सक्यो भने एकबाट दुईको पछि म लाग्ने एकदम मेरो  शोक छ।

अनि अहिलेसम्म मेरो संगीत यात्रा, मलाई त के भन्थे भने, यो अनुहार पनि जति साबुन लाएर पनि मेरो अनुहार चाहिँ गोरो भएन, अनि बजारमा जाँदा पनि यो पक्कै पनि कहाँको पहाडतिरकै मान्ठ होला, भन्दाछिया। अनि जता गएपनि हेर्ने नजर फरक छ, अनि त्यसपछि देउडा, काठमाडौँमा मैसँगै हाम्रो हुम्लाकै मान्ठले पनि काठमाडौँ हामी ६७-६८ सालमा काठमाडौँ पढ्दाखेरि मेरो घर हुम्ला हो भन्दैनछियो, मेरो घर कालिकोट हो भन्दैनछियो। कालिकोटका साथी छिया, जुम्लाका साथी छिया मेरो घर सुर्खेत हो, नेपालगञ्जतिर हो भन्थे। किनकि नेपालगञ्ज पनि बजारमा थाह छियोन तिनीहरुलाइ। खुई खुई प्लेनबाट बाउआमा रुपियाँले टुसुक्क एयरपोर्ट झर्ने भया, एयरपोर्टतिर हो भन्थे। हुम्ली जुम्लीका घर खुरुक्क एयरपोर्टतिर भयापछी, यहाँका मान्ठका काँ हुन्ना। त्यसो भन्दा छिया के पहिला, मैले त्यतिखेरै पनि त्यतिखेरबाटै त्यो बाटोलाई चिर्दै जानुपर्छ, मसँग जतिबेला लागिपुगि पुगला, त्यतिखेर म आफ्नै धुनमा हिँड्छु।

 

कोले राम्रो भन्या भुनन्ना, नराम्रो भन्या भुनन्ना भुनेर अहिले यो अहिले पछिल्लो चरणमा अर्को भ्रम पनि के फैलिया थियो भने, कलाकार हुम्ला- जुम्लाका कलाकार, अन्य ठाउँका कलाकार चाहिँ एकदम ब्रान्डेड, अब इङ्लिस भाषा बाइगो फेरि  उनीहरू चाहिँ एकदम राम्रा, एकदम ढुकुटी, हाम्मा हुम्ला जुम्लाका कलाकारहरू, कर्णालीका कलाकार भनेका यी गाइने वादी मात्तै हुन्, यी कलाकारै होइनन्। यी गाउने जति, नाच्ने जति यी काम नलाग्या, आमाबुवादेखि जित्या, यी नराम्रो व्यवहार भयाका भन्ने चलन छियो। अहिले बिस्तारै बिस्तारै त्यसलाइ हाम्रा कर्णालीमा पनि एकदम पछिल्लो चरणमा अग्रजले पनि बुझाउँदै गया। पछिल्ला हाम्रा पुस्ताले पनि बुझ्दै बुझ्दै गया। शिक्षित शिक्षाको कमी थियो पहिला।

अझैसम्म मलाई पनि यो एक वर्ष पहिला गर्ने व्यवहार र अहिले एक वर्ष भन्दा पछाडि गर्ने व्यवहार आकाश पातलको धेरै फरक छ। काठमाडौँमा भन्या, हाम्रै कर्णालीकै अग्रज कलाकारहरूले पनि मलाई राम्रो पनि भन्या, नराम्रो पनि भन्या र मेरो कारणले पनि फेरि कसैको धेरैको अब रोजीरोटी पनि अलि पर गाछ के, किनकि कला क्षेत्रमा पनि ठगहरू छन्, कला क्षेत्रमा पनि अरुलाई दबाएर आफू अगाडि बढौँ भन्ने छन्। त्यहीमध्ये अलिकति सुर्खेतका कलाकारलाई संरक्षण गरौँ। थोक्कै जुम्लालाई थोक्कै पेलौँ। त्योभन्दा थोक्कै कालिकोटलाई झन् पेलौँ। हुम्लालाई त, हुम्ला पनि हुम्ला भन्दाभन्दै जुम्ला भनिहालेछौ। हुम्ला त प्राय मुखमा कसैको छैन। काठमाडौँमा अहिले पछिल्लो चरणमा लाइभबाट पहिला-पहिला मैले पनि धेरै, अब धेरै अग्रज व्यक्तित्वहरूले लगानी गर्नुभयो। मैले गीत गाएँ, अहिलेदै होइन। मेरो संघर्ष मैले २०६७/०६८ बाट गीत गाउँदै गए। कसैले चिन्ने माध्यमै भएन।

अनि अहिले पछिल्लो चरणमा चिनिने भनेको के भइदियो भने, कला कम लगानी बढी भइदियो। त्यही हिसाबले पनि हाम्रा देउडा कोले शून्याछन्, देउडामा सकेमा सस्तो गरिदिया हुन्थ्यो, राम्रो गरिदिए हुन्थ्यो। अनि देउडा खेल्नेलाई अलिकति परै लाउने र मैले पछिल्लो चरणमा जेहोस् म आफू त, आफू चल्नालाई मैले अहिलेसम्म अझैसम्म गर्या नाइ मैले चल्नालाई त अहिले देखिँदै छ। राम्रो कामभन्दा जे जे नराम्रो, जे जे तुच्छ शब्द, देउडालाई पनि त भन्ने शब्द पर्फेक्ट मान्छन्। हजुर हजारी फुलौ भन्या पुराना दाजुभाईहरूले भन्थे, ती शब्द कहाँ गया गया। अहिले आफू चिनिनुभन्दा मेरो कारणले कसैको कला दबिन्छ भने, किन अहँ नभन्ने भन्या र अहिले मैले बुढी आइमासँग पनि गायाछु। आइमाई भन्छन्,  दिदीहरूसँग गायाछु, बहिनीहरूसँग गायाछु, हरेक मान्छेसँग गाउँदाखेरि धेरै कमेन्ट पनि मकन के आछ भनेपछि, ओहो नबराज त जै तो पाएसँग पनि गाउँछ भन्ने पनि आइराछ, त्यो जैतो पाएसँग होइन नि।

 

सहजकर्ताः नाइ तमिल्या क्या भन्या भन्यापछि, हुम्ला, जुम्ला, कालिकोट पहाडी जो क्षेत्र छन्, त्यहीलाई चाहिँ अलि हेपे चेपेको महसुस भाको तमीले कुडो भन्या हैन?  एउटा कुरा क्या हो भन्यापछि, जति टाढा, जति अग्लो हुन्छ, त्यसको महत्व त्यति नै हुन्छ। सगरमाथा जति टाढा कोही पनि छैन र उसको जति महत्व कसैको पन छैन। तपाई सगरमाथा बनेर हिँड्नुस्, तपाईलाई कसैले रोक्दैन। यदि तपाईमा क्षमता छ, कसैले दबाएर दबिन सकिने यो समय हैन। कोही नदबियोस् , कसैका कुडाहरू नरोकिउन, यी बोल्न पाउन्, गाउन सक्ने क्षमताले गाउन सकोस्, अब त्यसा भन्ने कुडाहरू त कति भन्या भन्या, अब त्यो कसैले नभनोस् भनेर हामी त्यहाँबाट उठ्नुपड्यो, हामीले बोल्नुपड्यो। तम्रो ठाउँबाट अब मैले एक्लाले गरी क्या हुन्या या हो भनेर तमीले बोल्यान, यिनुले मैले क्या गरी हुन्या हो भनी यि बोल्यान, मुइले म एक्लै गरी क्या गरी हुन्याहो भनी मैले बोल्यान भन्यापछि, नबोल्दा नबोल्दै यहाँसम्म पुगिसक्यौँ। उही देश आज क्या भयो, आज कसो मान्या महाराज, भलै भयो भन्याजहो, बिगाड्या पन भलै भयो, सपाड्या पन भलै भयो।

खराब कुडामा हामीले खबरदारी गर्न सक्यौ भन्यापछि हामी हरेक कुडामा अगाडि आउन सक्छौँ। त्यसैगरी अब हाम्रा “गरी कुडा”, कुडै गरुला भनि आयाका हुन् यी पन। नामै “गरी कुडा” छ यिनको, तर यिनुकापन दुःख सुखका आफ्ना पीडा, देख्ने मान्छेलाई त क्या भयो, सजिलो छ। अँ… खाया छन्, बस्या छन्, बासुदेव महत भन्ने मान्छेले उही भन्या जसी जोइ पायाका साथै जसो भन्यो उसै अद्दिने, साथै खेलिदिने। अब म जसो अभागी भयात काबाटी हुने छियो। मेरा त जोइपन छैन हजुर, जसो नाउँ उसै खन्टेखलास भयो मेरा त। ह… त्यसो हुँदा पनि अब हरेक मान्छेका भित्र आफ्ना पीडा हुन्छन्, आफ्ना दुःख हुँदाछन्। म उनुलाई सोध्न चाहन्छु, यसो कुडा बुझ्दाखेरि तमी त्यो सुइयो लाउने मुन्छेपन हौ भन्दाछन्। सुइयो लाउने भन्दाखेरि स्वास्थ्यकर्मी हो, गल्ती-गल्ती कुडा बुझ्दाछन् काठौदा बान्ना हुने तबै बिग्डेको छ। स्वास्थ्यकर्मी पन हुन् भन्ने कुडो थाहा पायाँ। अब त्यो दुःख, संघर्षका कुरा उनका मुखबाटी म पन पनि सुन्न चाहन्छु क्या हो।

 

बासुदेव महत(गरी कुडा): कठैबरीयौ, मेरा दुःख कहु  भन्या रात बुर्यानछ, दिन छिन्नेछ,  क्या गद्दान र म सार्है दुखारी छोरो हुँ आमाको। मेरा आमा र मेरा बाबाको पहिल्यै म जन्मिने बेलामा बिछोड भइसक्यारछ। म सानै छिया, मेरो बाबाले मलाई हेर्नै छोड्या छन् क्या। अनि आमाले बाबा पट्टिको हजुरआमाले, हजुरबाले पनि अब यइको पोइले वास्ता गद्दैन भनेहामीले यइको क्यान वास्ता गर्नुपड्यो चनेर सार्है दुःख दियापछि मेरी ती मतारीले म कन माइत लिइछन्। माइतमा हुर्केको हुँ म, आमाले अर्काको ढिँकि जाँतो गर्दै म कन पालेकि हुन्, म त्यसै भएको होइन हजुर। मेरा आफ्नै दुःख छन्। त्यसपछि मलाई मामाहरुले सपोर्ट गर्या, मामाहरुले पाल्या। आमाले पालिन, मलाई ठुलो बनाया, हुर्काया। अनि म मामा घरै बसेर आदरणीय मामाहरुको माया पाएर, पूजनीय मेरो आमाको माया पाएर म त्यहि पढे, त्यहि लेखे, त्यहि हुर्के हजुर। जब म ठुलो हुदै गए, मलाई त अनेकौ लाल्छना आउन लाग्यो। फलाना छोरो फलाना ठाउँ ल्याई र हामीले यहि कन क्यारी व्यवस्था गर्ने हो भनी धेरैको संकोच हुन लाग्यो।

 

त्यसपछि म मेरो आमालाइ एउटा भगवानरुपी विदेशी  संस्था कर्णाली प्राविधिक शिक्षालयमा मेरो आमालाई कार्यालय सहयोगीमा भर्ना गर्दिनु भयोछ, त्यो मेरो दुःख र पीडा बुझेर। ती मेरी श्रदय आमाको लागी एकचोटी जोडदार ताली बजाइदिनुहुन म विनम्र अनुरोध गर्दछु दाजु भाइयौ। मलाई सार्है दुःख लाग्छ ती सपना सम्झीने हो भन्यापछि मन त्यसै रोएको होइन। त्यसपछि म ठुलो हुदै गएँ, पढेँ, लेखे, अर्काको  सहारा भएपनि मैले आफ्नो धर्म चुकाइन, आमाले आफ्नो धर्म चुकाउनुभएन। मेरो आमाले फेरी दोस्रो पटक अर्को विवाह गर्नुभयो र मलाई छोड्नुभयो। त्यसपछप विहे गरेको केही समयपछी मेरो आमाको सन्तान अरु जन्मिन सकेन दोस्रो श्रीमान बाट।  अनि आमाले सहारा लिनको लागी मैलाई नै अंगाल्नुभयो। मैले मेरो आमाको माया मार्न सकिन, म आमाकै काखमा हुर्के। आमाले मलाई पढाउनुभयो, लेखाउनुभयो, घरबार बनाइदिनुभयो, विहे गरीदिनुभयो।

 

अनि फेरी मलाई साथ दिने, म तिमीसँग विवाह गर्छु, मलाई तिम्रो बानी मन पर्यो, मेरो बानी मन पर्यो भनेर हलक्क नजर लाएकि हो क्या,मेरी बड्डीहात, ती बड्डी  मरी लक्ष्मीदेवी खत्रीको लागी एकचोटी जोडदार सँग ताली बजाइदिनुस्। मलाई यति सपोर्ट बनाएर यहाँसम्म ल्याएकी हुन्। अनि हामी यसैगरी हुर्कियौँ दुबैजना पढ्यौँ, लेख्यौँ अनि यस्तै रामरमाइलोमा जान नसकेपनि  यस्तै गाउँघरका क्रिर्याकलापहरुमा देउडा खेल्न्या, झुंगा, चुट्कपला, मांगल खेल्न्या, नाच्न्या,मेरो नानै देखि कला छियो। मेरो बुढीको पनि धेरै, बड्डी भनु या बुढी भन्यापनि, हुन त बड्डी नै हो।  बड्डी पनि मजाले गीत गाउन्यान  हेर, क्या मजाले देउडा खेल्ने, नाच्नमा त्यस्तै,स्कुलका कार्यक्रममा हर कुरामा भाग लिने, दौडमा जितेकै, पढ्नमा जितेकै, त्यस्तै गर्दै बुढी पनि स्टाप नर्ससम्म पुगेर अहिले  हामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुन डाक्टर साब् मंगल रावल आउनुभाथ्यो,  उहाँले हामीले उबाजेको संस्था र मेरा आदरणीय व्यक्तित्व महान व्यक्ति जुन सपना बोकेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उब्जाउँछु र त्यहाँका जनतालाई ठूलो सेवा दिन्छु भन्ने नरेश भण्डारी लगायत अन्य टिमले त्यो प्रतिष्ठान उत्पादन गरे अनि हामीले त्यसमा रोजगार पायौँ, असाध्यै खुसी छौँ।

त्यहाँ त अइले डाक्टर पढ्छन्, बि.एस.सि नर्सिङ पड्डान्, हाम्मै भाइ छोरा टाढा टाढाबाट आइकन अहिले हाम्रो जुम्ली जनता र कर्णालीको लागि ठूलो गौरव छ, एकचोटी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जोडदार साथ ताली बजाइदिनुस्। मैले पनि दुःखको भारी बिसाउने त्यही पाएका छु, मेरी बुढी पनि त्यही पढेरै फर्स्ट ब्याचको  त्यहाँ पढ्नुहुन्थ्यो, त्यही जागिर खाएर अहिलेसम्म उहाँपनि जागिर खानुहुन्छ, म पनि त्यसरी जागिर खाछौँ। अहिले हामीले यसरी घर बनाछौँ, हाम्रो एक छोरो छ, एक छोरी छ। पहिलो ब्याच, बेलाबेला इङ्लिस दिनु भुनिकन सिकाया होइनौ अघि,अब हुँइदइनन् गरे। बेलाबेला इङ्लिस दिनु भुनिकन तिमीलै सिकाया होइनौ? त्यस्तै गरेर हाम्रो जीवन संघर्ष अगाडि बढ्यो हजुर। अहिले अनी एकदिन कस्तो लाग्यो भन्यापछि अब त अब घरबारका कुडा आया, अनि माथि जुङ्गल गयौँ। पहाडबाट गाईले रुवा खाइदिया, रुवा भन्याका गहुका क्या गहुबालि खाइदिया भुन्यार गयाछियौँ। त्यहीबेला यो कोभिड भन्ने पनि फेरि अनि इङ्लिसै शब्द आउनो, विश्व महामारी रोग क्या, क्या भन्दान् त्यहीकन?

 

सहजकर्ताः धतुरा काँडा जो हुन्या।

 

बासुदेव महत(गरी कुडा): वा… यसैगर्या जेल्या, त्यही रोग आयाछियो, अनि माथि गयौँ भन्यार त्यही बेला त अक्सिजन पनि नपाइने हजुर,  हेर्नुस् कहाँ रुखमनी पुडो बसेछि अक्सिजन पाइन्छ भन्यार त्यहीबेला बड्डीकन त जरो आइदियो। अनि जरो आयाछी बड्डि फेरि नजिक आइन्, म एकचोटी बाडहाड बान्या हात पुरै काँडा कोरिया छियो। अनि बड्डाउ, ए बड्डाउ उठ्ठैनौ, ए बड्डाउ उठ्ठैनौ भनेर  १० चोटी भन्यापछि क्यान त हो, भन्या मैले। उठ ए एकचोटि टिकटक बनाउ सबै बनाउनान् त तुमीकन मात्तै लाज लाग्दो छ, ऐया..,  म बनाउँदैन कस्तो लाज लाग्दो छ, मुइले भन्या क्या। क्या लाज मान्दा हुन् त यी, बनाऔँ आउ ए, कहिले हामी पनि भाइरल होइजानाउ कि? भनिन् र बड्डीले टिकटक सुरुवात गरिन्।

लौत बनाउँ त भनेर म पनि कसिया, अब त्यहीबेला क्या दिउँ, केही पाइन हजुर। दुई गुलाफका फूल बारीमा फुल्या छिया, अनि क्या को नक्कल गर्नुपड्यो, धामीको नक्कल गर्नुपड्यो भुन्यार मकन सास फेर्न गाह्रो भइगो नारायण गोसाईअ,  क्या कारणले होला भुन्यापछि मैले अनि आफ्नै भाषाशैलीमा पतुर्ने भन्नाउ हामी, धामी बसाल्ने जस्तै, एइ जङ्गल काटिकन सबै जङ्गल बजार बेचिलिस। तोकन कहाँबाट सास फेर्न गतिलो होला ए, तोकना सास फेर्नु छ भन्यापछि तुइले काटँछाँट गर्नुपड्यो, जङ्गल बचाउनु पड्यो, जङ्गल आगो लाउनु भएन। जसको कारणले समयमै पानी पर्छ र बोटबिरुवा मास्नु भएन, जसको कारणले पशुपन्छीको बासस्थान हुन्छ। अनि  समयमै पानी पर्‍यो भने हामीले बाली नाली लाउन सजिलो पड्डोछ र खाना लाउन पनि हामीन पुग्दो छ। त्यसैले तोइले रुख काट्नुभन्दा रुख लाउने गरेस ए.. बड्डीअ।

आ…,  उड्डियापछि त्याबाट बड्डी त, अहो बड्डाले गर्या हँ…, अहो…., गर्या गर्या गर्या भनि र त्यस्तै गर्दैमा हामीले टिकटक पोस्ट गर्दै पोस्ट गर्दै गयौँ। लास्टमा के भो भन्यापछी  अब क्या दिउँ बड्डी न,  ल मेरो दुई दाना यी फूल लैजा र, हा…., ल फूल लैजा र एक सिरान हाल्देई, एक गोरान हाल्देई। भोली बिहान बाट तो न सार फेर्न गार्हो भयोछ भन्या पछी भाई आयो भनेस नत्र हाई आयो भनेस भन्यार मैले बनाएको टिकटक हो। तपाइहरुले असाध्धै मन पराइदिनुभयो। यसको  लागी सबैले जोडदार साथ ताली बजाइदिनुहुन म विनम्र अनुरोध गर्दछु। तपाइहरुले माया दिनुभयो, त्यसैले म यहाँसम्म आउन पाए, तपाइहरुले दया गर्नुभयो म यहाँ सम्म आउन पाए।

 

सहजकर्ताः महाराजा परमेश्वर एकखेरी छप्किजाए अब, काम कुडो सकिगयो भने पख्, यो त कुडो मैले बुझे। जङ्गल बड्डी लिकन गया, त्यो अक्सिजन लिना लागि हो कि, घर केटाकेटी था पाउँदा भनिकन गया हो जङ्गल?

 

बासुदेव महत(गरी कुडा): हाहाहा…., यो यस्ता कुडा नअर भाइ तुमी, त्याही यत्तो समाजा देखाला यहीथा कुडा गद्दा छौ।

सहजकर्ताः जे जसो भयापन आफ्नो कला, संस्कृति बचाउनका लागि तमीले गर्याको जुन काम छ, त्यइ प्रति एकदम तमीले क्या भन्या अगी मेरो कोही छियोन एक्लै भया भन्यौ, तम्रो कला क्षमताले आज दुनिया तम्रा साथमा छ, त्यो सबभन्दा ठूलो कुडो हो।

 

बासुदेव महत(गरी कुडा): दे, दे अब मुत क्या भया, बलियो खाम्बा भया। अब जो जुम्ला आया पनि एकचोटि गरीकुडा कहाँ छन् भनेर मलाई भेट्न आउँछन्, मैले आधार सम्मान गर्छु। आदरणीयलाई आदरणीय भन्छु, त्यही तरिकाको ढोग गर्छु। पूजनीयलाई पूजनीय भन्छु, त्यही तरिकाको ढोक गर्छु। मभन्दा सानो आयो भने सम्मानको साथ उहाँहरूलाई बसाल्ने आग्रह गर्छु। मैले पनि माया दिएको छु। तपाहरूले पनि यो माया कमी नगद्दीनुहोला। गरीकुडाको लागि हात हल्लाइदिनुस् एकचोटि। आहा…, मेरा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूप्रति म माया.. गर्न चाहन्छु है हवस्।

 

सहजकर्ताः  य अब घर गइकन आफ्नी बड्डीलाई माया गन्नु।यहाँ अरु कुडा छ, अब हामीसँग धेरै समयपन छैन हजुर, अब अझ धेरै बोल्ने मन,कुडा हन्ने मन त छियो, टाइम मैथ आच्छिनप। म अब हाम्रा कुडाकानी त भइगया त्याबाटी कोही केही सोध्ने मन छ, अब हाम्रो इब्सललाइ, हाम्रो नवराजजीलाई, हाम्रा यी गरीकुडा, अब मु की कसैलाई केही सोध्ने मन छ भन्यापछि हात उठाओ, जान्याका तम्रा प्रश्नको उत्तर दिउँला हा। कसैलाई केही सोध्ने मन छ भने हाम्रो कला संस्कृतिबारे, त्यहीबारे कसैलाई सोध्न मन छ भन्यापछि हात उठाओ।

 

बासुदेव महत(गरी कुडा): दाजुभाईयौ, आफून लाग्या कौतुहल्तो क्याई,केही पाउने इच्छा छ,

हामीसात कुडाकानी गन्न्या, केही सोधपुछ गरिकन जानकारी दिन्या, अथवा हामी न केइ सन्देश दिन्या, विचार छ भन्या डर नमानी सोध्या है।ख जसको लागि हामी,

भाइको लागि जोडदार साथ ताली, भाइ उठ्नु भाको छ।पर सोध्न लाग्याका छन् ।

 

प्रश्नकर्ताः हलो, मेरो प्रश्न खन्टेखलासलाई छ। सबैको बारेमा त तपाईले दुःख सुखका कुरा के हुन्, कस्तो हुन् भन्नुभो, आफ्नो बारेमा भन्नुभएन। मेरो नाम प्रेमप्रसाद चौलागाई हो। मेरो घर कालिकोट खाडाचक्र नगरपालिका वडा नम्बर-८, धन्यवाद।

 

सहजकर्ताः सबैका सुखका कुडा सबैका खुसीका लागि आफ्नो खुसी बिच्छ्या भन्दा छैनन् के त्यसै हो। अरुका कुडा सुन्दा सुन्दै आफ्ना दुःखको कुडा सुनाउन पनि पाइएन, अब समयपन छैन, मेरा दुःखका कुडा धेरै छन् ,मैले पनि धेरै दुःख संघर्ष गरेर १०/१२ वर्ष कलाकारिताका लागि हड्डो, पड्डो, मड्डो ए, तो पश्चिमको भाषा बोलिकन पनि कलाकार हुँदा छन् के, टिभीमा आएका हुने कलाकार हुँदा छन्, भन्यार स्टेचवाटी धकेलिकन फाल्याका पछेल्ला दिन चाउलव कट्टा लिकन काठमाडौँ गयाको हुँ। काठमान्डौँ पन चावल नसकिँदासम्म साथ्याले केही भन्योन, चामल सकिया पछेल्ला दिन छकाल बाहा किचकिच अन्न लाग्यो, त्यही झोला समाएर हड्डै रहेर अझ घर आया। यसा चार पाँच चोटी गइसक्यापछि दुःख सङ्घर्ष गरेर नेपाल टेलिभिजनबाट चार वर्ष भयो, भद्रगोलमा आफ्नै भाषाबाटी मैले ऊ गरिराख्याको छु। यहाँ सम्म आउने मौकापन यी दुःख सुखले दिएको हो। परानी छँदासम्म दुःख गन्नैपड्न्या हो हजुर।

लौ त हजुर अब टाइम छैन, मैथै कुडा हन्ने मन हुँदाहुँदैपन हजुरसँग छुट्टिनुपड्ने भयो। जानेतक एक एक टुक्का उहाँहरुले गीत गाउनुहुन्छ। नभए देउडा साँझ हुन्या हो। यहाँ पछि अझ देउडा साँस हुन्या हो, देउडा साँझमा सबै आया, देउडापना खेलुला, रमाइलोपना गरुला धेख्या।

 

“राइ सल्ला धुपीका दौरा बल्दा धमस्कार,

अब हामी बाइजादा भयौ जद्दौ नमस्कार।”

 

कार्यक्रम सन्चालक(तिलक पौडेल): हस् धन्यवाद, कृपया वक्ता तथा सञ्चालक ज्यूहरूलाई म स्टेजमै रोकिदिन हुनको निम्ति हार्दिक अनुरोध गर्दछु। “खस कुरा-खासकुडा; किस्सा तन्नेडीका” यसमा सहजीकरण गर्नुहुने खन्टेखलास, गरीकुडा, इब्सल सञ्ज्याल, नवराज भण्डारीज्यूलाई नासो प्रधान गरिदिनुहुनका निम्ति म कर्णाली उत्सव आयोजक समितिको तर्फबाट लक्ष्मीप्रसाद पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। उपस्थित महानुभावहरू यस लगत्तै अर्को सत्र पश्चात् कर्णाली कन्सर्ट अन्तर्गत देउडा साँझ रहने व्यहोरा यहाँहरूमाझ जानकारी गराउन चाहन्छु। यहाँहरूको उल्लेखनीय उपस्थितको हामीले अपेक्षा गरेका छौँ।

कर्णाली उत्सवको छैटौँ संस्करणसम्म आइपुग्न हामीलाई सहयोग गर्ने प्रबन्धकको रूपमा कर्णाली प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, आयोजक सहर वीरेन्द्रनगर नगरपालिका, समन्वय गर्ने कर्णाली प्रदेश योजना आयोग, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, समृद्धि फाउन्डेसन, सहकार्य गर्ने वैदेशिक रोजगार बोर्डको सचिवालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय-कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय -कर्णाली प्रदेश सरकार, गुर्भाकोट नगरपालिका-सुर्खेत, लेकबेसी नगरपालिका -सुर्खेत, बराहताल गाउँपालिका सुर्खेत, गुराँस गाउँपालिका-दैलेख प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड,  ग्लोबल आई.एम.ई बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड,बुद्ध एयर रहेको छ।

 

 

 

 

 

 

 

Leave a Comment

Event Search
Ads
Latest Events