नन्दकृष्ण जोशी, देउडा गायक

नन्दकृष्ण जोशी, देउडा गायक

उनुका कम्पनी माला
दाइ क्यान मास्ता हुन बाँज
हो बाँज, झुम्रेउली बाँज
मन भन्या साउनकी रात
दन्त केइ हाँस्ता हुन बाँज
हो बाँज, झुम्रेउली बाँज

नन्दकृष्ण जोशी, देउडा गायक

म पहाडको मान्छे हुँ । मेरो घर सेती अञ्चलको बझाङ जिल्ला हो । सेती, कर्णाली, महाकाली र भेरी चारजना दिदीबहिनी हुन् । कर्णालीको भाषा यदि व्युत्पत्तिका रूपमा अगाडि नआउने हो भने सायद महाकालीको भाषा कालापत्थरमा बोलिन्थ्यो होला । महाकालीको भाषा अहिले जुन बोलिन्छ, त्यो आउने थिएन । सेतीमा बोलिने ‘ओ बउजु तमी काँबाट आया भन ?’ त्यो भाषा सायद महाकालीसँगै मिसिन्थ्यो होला ।

हामी गितमात्रै सुन्छौँ तर यो व्याकरण पनि हो । यहाँभित्र व्याकरणीय शब्दहरू छन् । कर्णालीको जुन सिँजाको भाषा हो, हाम्रो आदि भाषा हो । भाषाको मौलिक स्वरूप बग्दै गइरहेको छ । तर यसको मूल मर्म एक ढिक्का भएर कर्णाली प्रदेशमा रहेको छ । नयाँ पुस्ताहरूले गाउने देउडा र यहाँको मौलिकताबिच खाडल छ । यसका कारणहरू छन् । समयको परिवेशले गर्दा मान्छे ज्यादै परिवर्तन चाहाँदारहेछन् । तर भाषामा परिवर्तन हुनुहुँदैन जुन मौलिक भाषा छ । ‘तुमिले कर्णालीमा बोल्या भाषा’ र ‘मूइले बोल्या भाषा’ बझाङमा बोलिँदैन । अलिकति फरक छ । ‘तुमि काँबाट आयौ माण्ठौ ?’ कर्णालीमा भनिन्छ, तर बझाङमा ‘माइस’ भन्छन् । बझाङमा ‘ज’ लाई ‘झ’ भन्छन् । ‘जानु’ लाई ‘झानु’ भन्छन् । यो परिवर्तन आएको छ । आजभोलि मान्छेहरू परिश्रम गर्न छोडेका छन् । धेरै कलाकारहरूले पनि परिश्रम गर्न छोडेका छन् । २०४७ सालदेखि मैले गाएका २२ वटा एल्बमहरू कतै न कतै यता उता चोरी गरेर नयाँ–नयाँ भाका बनाएका छन् । हाम्रो देउडामा त संगीत सरोबर छ । कर्णाली जसरी सुसाउँदोछ, भेरी जसरी बगेको छ, नबराज लम्सालका कवितामा जसरी महाकाव्य बगेको छ नि त्योभन्दा कम देउडामा छैन । तर मान्छेहरू ‘छोटी खाऊँ जल्दी मरउँ’ गर्छन् । भाषा र संस्कृतिलाई विकृत गर्ने अधिकार कसैलाई छैन ।

प्रेमदेव गिरीजीले २०३५ सालमा मेरो गीतमा मादल बजाउनुभएको थियो । २०४३ साल फागुन ७ गते प्रजातन्त्र दिवसमा रेडियो नेपालमा मैले गाएको गीत जसले प्रथम पुरस्कार पाएको थियो ।

छमक्क, छमक्क, छमक्क, छमक्क,
नेपालगञ्ज सहरैमा
छमक्क, छमक्क नेपालगञ्ज सहरैमा
छमक्क, छमक्क पानी पड्यो टिनमा भिनाजु
छमक्क, छमक्क सम्झना घरको लाग्छ
छमक्क, छमक्क यति लामा दिनमा भिनाजु

पहिले मैले गाउने गीतहरूमा क्यासेट बनाइन्थ्यो तर अहिले युट्युबको जमाना छ । यो कुरा धेरै फरक छ । कुनै बेला यसरी विद्वान् व्यक्तिहरूका अगाडि देउडा गीतको व्याख्या गरौँला भन्ने मैले सोचेको पनि थिएन । २०३४ साल कार्तिक १४ गते रेडियो नेपालमा फूलबारी कार्यक्रम मैले पहिलोपटक जुन गीत गाएँ त्यही गीत रेकर्ड गरेको हो । मेरो लगाव कर्णालीमा पछि आएको हो । सेती र महाकालीका हरेक बस्तीहरूमा कुन ठाउँमा कुन मेला लाग्दछ मलाई थाहा छ ।

मलाई २०३५ सालमा कुनै मान्छेले ‘हाम्रा बन पाखाका गीत गाइकन हाम्रो बदनाम ग¥यो यो काठाले’ भनेर गाली गरेको याद छ । त्यतिबेला बहुदल र निर्दलको कुरा थियो । म बहुदलको प्रचार गर्न हिँडिरहेको बेला ठाउँ ठाउँमा गीत गाएँ । त्यतिबेला मलाई गाली गर्दा मैले केही मतलब गरिनँ किनभने मसँग मेरी आमा गंगामतिले सिकाएका मागलका भाकाहरू थिए ।

परिमल स्नेही उहाँ अहिलेको भाषामा प्रयोग गर्नुपर्दा दलित हुनुहुन्थ्यो । उहाँ दाइ बझाङको हुनुहुन्छ मैले उहाँको गोडामा दाइने हात राखेर ढोगेको छु । तमि कसा छौ दाजु पनि भनेको छु । दलितलाई दाजु भन्यो यो पनि दलित नै रहेछ भनेर मलाई पनि कतिपयले भने । अहिले त यो समाज परिवर्तन भएको छ । यो परिवर्तनलाई दिगो बनाउनका लागि हामीले धेरै काम गर्नुपर्छ ।

म १७ वर्षको अवधिमा गाउँमा घुम्दाखेरि विभिन्न भाकाहरू थिए । ती भाकाहरू टपक्क टिपेर ल्याएर रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरेर सारा मान्छेहरूले सुन्ने गर्थे । मैले पनि धेरै भाकाहरू गाएको छु । पछिल्लो अवस्थामा पहिलो कुरा राजनीतिक कारणले दश वर्षे जनयुद्धका कारणले गर्दा मानिसहरूको जीवनस्तर कहाँ पुग्यो ? लोकसंस्कृति कहाँ पुग्यो ?

भाषाको कुरा गर्दा पनि पहिले हामीले गुन्यू भन्थ्यौँ । अहिलेको पुस्ताले बुझ्दैनन् । हाम्रा गीतहरूमा भाषा र संस्कृति छ । त्यसलाई पछिल्ला पीढीहरूले अनुसरण गर्नुपर्छ । अहिलेको पुस्तामा त्यसलाई अनुसरण गर्ने धैर्यता पनि छैन ।

हामीले हरेक कुराहरू राजनीतिसँग जोड्ने गर्छौँ । अहिले हामी सात वटा प्रदेशमा परिणत भएका छौँ । कर्णाली प्रदेश सरकारले कला भाषा र साहित्यको लागि छुट्टै बजेट छुट्टाउनुपर्छ । भाषा, साहित्य र संस्कृति मरेको खण्डमा राजनीति पनि अन्त्य हुन्छ । यहाँका १० वटा जिल्लाहरूमा प्रत्येक वर्ष जिल्ला सदरमुकामहरूमा कर्णाली उत्सवजस्तै किसिमका कार्यक्रमहरू आयोजना गर्न लगाउन जरुरी छ । जस्तै जुम्लाको तातोपानी गाउँपालिकामा लाम्रा संवाद कार्यक्रम हुन्छ । हामीले जति गाएका छौँ । ती गीतहरूको सूचनाहरू लेख्न लगाउनुपर्छ । जो भोलि कतै पाठ्यक्रममा पनि आउन सक्छ । अहिले पैठहरूमा गाउने गीतहरू, भजनहरू वा हाम्रो आमाले बोल्ने भाषाहरू र त्यो बेलाका कथनिहरू के हुन् ? त्यो पनि लिपिबद्ध हुन जरुरी छ ।


Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events