कार्यक्रम सारांश

पृष्ठभूमि

कर्णालीलाई चिन्ने र चिनाउनुका  साथै कर्णालीमै बसेर राष्ट्रिय बहस गर्न सकिन्छ भन्ने मानक स्थापित गर्नका लागि शुरु गरिएको कर्णाली उत्सव ..कुडा कर्नालीकाको तेस्रो संस्करण सम्पन्न भएको छ।  २०७८ फागुन २७ देखि २९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यान परिसरमा सञ्चालन भएको कर्णाली उत्सव ..कुडा कर्नालीका एउटा साहित्यिक, सांस्कृतिक एवं नीतिगत बहसको कार्यक्रम हो।विचारको उत्सवको रुपमा समेत परिचित कर्णाली उत्सव हरेक वर्ष फागुन महिनामा ३ दिनसम्म सञ्चालन हुन्छ।

नेपाली भाषाको उद्गम तथा खस राज्यको विरासत बोकेको कर्णाली प्रदेशले अब आफ्नो कुरा आफैं भन्न थालेको छ। प्रदेशका नीति निर्माता तथा जवाफदेही व्यक्तिहरुलाई कर्णालीले प्रश्न गर्न थालेको छ।  उत्सवको पहिलो संस्करण २०७६ फागुन १९, २० र २१ गते सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको थियो। जसमा विभिन्न १४ वटा सत्रहरु तथा अन्य विषयहरूमा बहस तथा साहित्यिक कार्यक्रम सञ्चालन भएको थियो।  कर्णाली उत्सवको दोस्रो संस्करण २०७७ फागुन २६ देखि २९ गतेसम्म वीरेन्द्रनगरस्थित बुलबुले उद्यान परिसरमा सम्पन्न भएको थियो जसमा पनि १४ वटा सत्रहरु रहेका थिए।

कर्णाली उत्सव ..कुडा कर्नालीकाको हाल सम्मका तीनवटै संस्करणमार्फत् देशको ध्यान कर्णालीमा तान्ने प्रयास गरिएको छ।  उत्सवमा देशकै प्रतिष्ठित व्यक्तित्व, कर्णालीलाई बुझेका र बुझ्न चाहने सबैको सहभागिता रहेको थियो। उत्सव कर्णाली प्रदेशलाई चिन्ने र चिनाउने अभियान संगै कर्णाली प्रदेशमै बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरुमा बहस गर्न सकिन्छ भन्ने प्रयास हो। उत्सवले कर्णालीका पहिचान र सम्भावनाहरुको खोजी गर्नुका साथै समग्र प्रदेशको समृद्धिमा बौद्धिक योगदान गरेको छ।कर्णाली उत्सवलाई तेस्रो संस्करणसम्म आइपुग्दा सफलतापूर्वक संचालन गर्नका लागि विभिन्न माध्यमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग, सल्लाह, सुझाव, हौसला र सकारात्मक आलोचना प्रदान गर्नुहुने सबै जना धन्यवादको पात्र हुनुहुन्छ।

कर्णाली उत्सव ..कुडा कर्नालीकाको तेस्रो संस्करण २०७८ फागुन २७ देखि २९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यान परिसरमा बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन भएको थियो।

उत्सवको लक्ष्य

कर्णाली प्रदेशको पहिचान र संभावना केलाई यहाँका ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय महत्व दर्शाउँदै कर्णाली प्रदेशलाई बौद्धिक गन्तव्यका रुपमा विकास गर्नु यस उत्सवको लक्ष्य हो।

उत्सवका उद्धेश्यहरु

  • कर्णाली प्रदेशमा पर्यटन प्रर्वद्धन गर्नु।
  • कर्णाली प्रदेशको कला, संस्कृति, भाषा र साहित्यको प्रर्वद्धन गर्नु।
  • प्रदेशको शैक्षिक तथा प्रशासनिक विकासका लागि पैरवी गर्नु।
  • प्रदेशमा रहेका आर्थिक संभावनाहरुको खोजी गर्नु।
  • प्रदेशको सामाजिक अवस्थामाथि विमर्श गर्नु।
  • संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर्सम्बन्ध मजवुत पार्दै सबै तहका सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनु।

उत्सवको उपयोगिता

कर्णाली उत्सवले कर्णालीमा एक प्रकारको उर्जा सम्प्रेषण गरेको छ। कर्णाली समृद्धिको बाटो पहिल्याउन मद्धत पुगेको छ। कर्णालीको पहिचान र संभावनाका विषयमा खुलेर छलफल भएका छन्। देशैभर छरिएर रहेका विद्धान् विदुषीहरुले कर्णालीको चर्चा गरेका छन्। उत्सवमा भएका छलफलको सार विभिन्न अध्ययन, अनुसन्धान तथा प्रतिवेदनको अंश बन्न सक्छ। नीति निर्माताहरुलाई खुराक बन्न सक्छ। समग्रतामा कर्णालीको चर्चा हुनु भनेको प्रदेशले उन्नतिको मार्ग पहिल्याउन सक्नु हो। उत्सवले कर्णालीको सांस्कृतिक र साहित्यिक विकासमा योगदान पुर्याएको छ। कर्णलीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमै उपयुक्त पर्यटकीय गन्तव्य बनाउन सहयोग पुगेको छ। कर्णाली उत्सवमा मुख्यतः प्रदेशको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक तथा पर्यटकीय क्षेत्रका मुद्दालाई छलफलको विषय बनाइएको थियो। कर्णालीमा रहेको सामाजिक समस्याहरु, समस्या समाधानका उपायहरु साथै कर्णालीको विकासको अवस्था, योजनाहरुमा हुने ढिलासुस्ती र समाधान, आविश्कारका कुरा जलविधुतको पहुँचको कुरा लगायत विभिन्न १३ वटा सत्रमा ७० जना भन्दा बढी वक्ताहरुले छलफल गरेका छन्। छलफलले तत्काल सुधार गनुपर्ने विषय, दिर्घकालमा समाधान गर्नुपर्ने विषयहरु श्पस्ट पारेको त छ नै , त्यसको साथै नीति निर्माणमा सार्वजनिक वहसको महत्वलाई समेत दर्शाइदिएको छ। उत्सवको आयोजनाले प्रत्यक्ष तथा परोक्ष रुपमा प्रदेश सरकारको विभिन्न कार्यक्रमहरुलाई सार्थक तुल्याउन धेरै हदसम्म सहयोग पुग्ने देखिन्छ। उत्सवका अवसरमा सुर्खेत आउने धेरैजसो साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरुले कर्णालीबारे केही न केही सञ्चार माध्यामहरुमा लेख्दै आएका छन्। उत्सवमा छलफल भएका राजनीति, इतिहास, समाज, कला, साहित्य, विकास तथा समृद्धिका विषयले मिडियामा प्राथमिकता पाएको छ।

उत्सवका  परिणामहरु

  • कर्णाली उत्सव तेश्रो संस्करण भौतिक उपस्थितिमा पाँच हजार भन्दा बढीले र अनलाइनमा १० लाख भन्दा बढी पटक हेरिएको छ।
  • कर्णाली, यसको परम्परागत पहिचान र यसलाई हेर्ने दृष्टिकोणबारे विविधतायुक्त विचार, वादविवाद एवं मतभेदहरुलाई समेत सहभागितामुलक बहस, मन्थन र चिन्तनको थालनी गर्ने साझा मञ्च कर्णाली उत्सव भएको छ।
  • सरकार, नागरिक समाज, विज्ञ र कर्णालीबासी एवं कर्णालीलाई मायागर्नेहरु विच कर्णालीका साझा समस्याको पहिचान गरी कला, भाषा, संस्कृति र विकासको साझा अवधारणा बनाउन मद्दत पुगेको छ जसले सरकारका तीनवटै तहलाई कर्णालीमा विकास र सम्मृद्धिको थप खाका कोर्न एवं योजनाहरु अघि बढाउन मद्दत हुनेछ।
  • उद्योग, पर्यटन, मानव विकास लगायतका नतिजामुखी कृयाकलापहरु अघि बढाउन आर्थिक, सामाजिक, राजनितिक र सांस्कृतिक परिदृष्यहरु झनै महत्वपुर्ण कारकतत्व हुने हुँदा छलफलको निचोडहरु यी सबै क्षेत्रका लागि सन्दर्भ सामग्रीका रुपमा चीरकाल सम्मका लागि उपयोगी हुनेछन्।
  • विश्वविद्यालय, विद्यालय, पत्रकारिता लगायतका वौद्धिक, प्राज्ञिक एवं चिन्तनका विषयहरुमा समेत कर्णाली उत्सवको बहसबाट निस्किएका विचारहरु अध्ययन, अनुसन्धानका लागि सन्दर्च सामग्रीका रुपमा उपयोगी हुनेछन्।
  • कर्णालीका प्रतिभाहरुले प्रतिपादन गरेका सिद्धान्त, आविस्कार र सिर्जनाहरुलाई समेत विश्वव्यापी रुपमा पहिचान दिलाउँदै यसको विश्वव्यापी स्विकारोक्तिका लागि उत्सवले साझा मञ्च निर्माण गरेको छ।
  • नीतिगत सुधारका सुझावहरु प्राप्त भएको छ।
  • आम नागरिकले आफ्ना नीतिनिर्माताहरुलाई सार्वजनिक मन्चबाट सुझाव दिन पाएका छन्, प्रश्न सोध्न पाएका छन्।


उद्घाटन समारोह

२०७८ फागुन २७ गते शुक्रबार

आयोजक शहरको तर्फबाट स्वागत मन्तव्य

मोहनमाया ढकाल, उपप्रमुख वीरेन्द्रनगर नगरपालिका

कर्णाली उत्सव ..कुडा कर्नालीकाको तेस्रो संस्करणको आयोजक शहरको रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले उत्सवको तेस्रो संस्करणका आगन्तुक एवं सहभागीहरुलाई  स्वागत गर्नुभयो।

कर्णाली प्रदेशको कला, भाषा, साहित्य संस्कृति तथा विकासका विषयवस्तुहरुमा बहस गर्ने कर्णाली उत्सवको उद्देश्य  रहेको बताउँदै उहाँले देशको विभिन्न भूभागबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पाल्नुभएका सम्पुर्ण अतिथिहरुलाई स्वागत गर्नुभयो।साथै उहाँले वीरेन्द्रनगर नगरपालिका यस उत्सवको होस्ट सिटीको रुपमा रहन पाँउदा गर्व लागेको कुरा बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 


तेस्रो संस्करणसम्म आइपुग्दा 

केवल प्रसाद भण्डारी, पूर्व प्रमुख सचिव कर्णाली प्रदेश सरकार  (सचिव, राष्ट्रिय योजना आयोग)

कर्णाली उत्सव ..कुडा कर्नालीकाको सुरुवाती समयमा कर्णाली प्रदेश सरकारको प्रमुख सचिवको भूमिकामा रहनुभएका तथा उत्सवको पहिलो संस्करण देखि नै उत्सवलाई सफल बनाउन स्यवंसेवी भूमिका खेल्नुभएका  हाल राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले तेस्रो संस्करणसम्म आइपुग्दाको अनुभव राख्नुभयो। उहाँले कर्णाली उत्सवको सुरुवातको कथासँगै उत्सवको तेस्रो संस्करणसम्म आइपुग्दाका विभिन्न उपलब्धि समेत व्याख्या गर्नुभयो। उहाँले तेस्रो संस्करणसम्म आइपुग्दा आम जनमानसमा उत्सवको उमङ्गको विषयमा समेत व्याख्या गर्नुभयो। पहिलो तथा दोस्रो संस्करणको पृष्ठभूमिलाई उल्लेख गर्दै उहाँले तेस्रो संस्करणबारे समेत जानकारी दिनुभयो।  उहाँले उत्सवलाई निरन्तरता दिने र यसको लागि सवैको सहयोग र सुझावको समेत अपेक्षा रहेको बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 


कर्णाली उत्सव किन ?

किरण कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक

कर्णाली उत्सव ..कुडा कर्नालीकाको तेस्रो संस्करणको शीर्ष प्रायोजकको रुपमा रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्णालीलाई चिन्ने र चिनाउनेका साथै कर्णालीमै बसेर राष्ट्रिय बहस गर्ने उत्सवको शीर्ष प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैंक जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको बताउनुभयो।

‘वर्षौंदेखि बनाइएको कर्णालीमा रोग, भोक र गरिबीको भाष्य परिवर्तन गरी कर्णाली अभाव र विकट तथा दुर्गमको पर्याय मात्र होइन, विकासको सम्भावना बोकेको एक स्वप्नभूमि हो’ भन्ने कुरा प्रमाणित गर्नुपर्ने दिन आएको बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 


छाउप्रथासम्बन्धी गीत बिमोचन

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यमान छाउप्रथासँग सम्बन्धित जनचेतनामूलक गीत विमोचन भएको छ।  गायिका सोफिया थापाको उक्त गीत छाउप्रथासँग सम्बन्धित रहेको छ।

गीतमा छाउप्रथालाई हटाउनका लागि जनचेतनामुलक सन्देशहरु प्रवाह भएका छन्। उत्सवमा गायिका थापाको सहभागितामा उहाँकै स्वरबाट उक्त छाउप्रथासँग सम्बन्धित जनचेतनामूलक गीत सार्वजनिक गरिएको थियो।  कर्णाली उत्सवको दोश्रो संस्करणमा छाउप्रथा सम्बन्धी सत्रसमेत सञ्चालन भएको थियो।

भिडियो हेर्नुहोस्ः 


उत्सवको उत्साह

मनिष  झा

जनकपुर साहित्य महोत्सव

विगत तीन वर्षदेखि मधेस प्रदेशको राजधानी जनकपुरमा सञ्चालन हुँदै आएको जनकपुर साहित्य महोत्सवको तर्फबाट आयोजक संस्था  नवमिथिला फाउण्डेशनका मनिष झाले उत्सवको उत्साहको विषयमा आफ्नो मन्तव्य व्यक्त गर्नुभयो उहाँले जनकपुर साहित्य महोत्सव र कर्णाली उत्सवले एक आपसमा सहयोग र समन्वय गरिरहेको बताउँदै मधेश प्रदेश र कर्णाली प्रदेशबीच पनि सहयोग तथा समन्वय हुनुपर्ने बताउनुभयो।  उहाँले जनकपुर साहित्य महोत्सव सञ्चालनको सफलता र त्यससंग सम्बन्धित अनुभव सुनाउनुभयो।आगामी दिनहरुमा पनि जनकपुर साहित्य महोत्सव र कर्णाली उत्सवले सहकार्य गर्नुपर्ने उहाँको धारणा थियो। कुनैपनि देशको विकासको लागि विचार तथा नीतिगत पैरवीका कार्यक्रमहरु अति महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।

भिडियो हेर्नुहोस्ः 


उत्सवको उत्साह

नवराज न्यौपाने

अध्यक्ष, तातोपानी गाउँपालिका जुम्ला/ लाम्रा संवाद जुम्ला

जुम्ला जिल्लाको तातोपानी गाउँपालिकास्थित लाम्रा गाउँमा बिगत दुई बर्षदेखि लाम्रा संवाद: गाउँगाउँका कुडा सञ्चालन हुँदै आएको छ। तातोपानी गाउँपालिकाका अध्यक्ष नबराज न्यौपानेले  उक्त लाम्रा संवादको बारेमा जानकारी दिनुभयो। लाम्रा संवाद कर्णाली उत्सव जस्तै एउटा संवादको भाग भएको बताउँदै उहाँले गाउँको इतिहास र कला संस्कृति तथा विकासका विषयवस्तुहरु बारे बहस भएको बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 


खस भाषाको  लहरो

विद्वत्  प्रवचन

प्रा. दिनेशराज पन्त

प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले खस भाषाको लहरो शीर्षकमा विद्वत् प्रवचन दिनुभयो। उहाँले कर्णाली प्रदेशबाट  बोलीचालीमा आएको खस भाषाको विश्वव्यापी प्रयोगबारे इतिहासदेखि वर्तमानसम्मको सम्मका कुरा व्यक्त गर्नुभयो।उहाँले खस भाषाको विश्वव्यापी प्रयोगको सन्दर्भका साथै यसको इतिहासका विभिन्न रहस्यहरु भन्नुभयो।

भिडियो हेर्नुहोस्ः 


कर्नाली क्यानाम घुमेर हेर्दा..

गीत

कर्णाली प्रदेशका १० वटै जिल्लाहरुको को परिचय समेटिएको गीत सुर्खेतको बागिना समुह ले प्रस्तुत गरेको थियो। कर्णाली क्यानाम घुमेर हेर्दा शीर्षकको उक्त गीतले कर्णाली प्रदेशका १० वटै जिल्लाहरूको परिचयका साथै पर्यटकीयस्थलहरूको व्याख्या समेत गरेको थियो।

भिडियो हेर्नुहोस्ः 


शुभकामना मन्तव्य 

मा. राजबहादुर शाही, सभामुख, कर्णाली प्रदेशसभा

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले उत्सवमा शुभकामना मन्तव्य दिनुभयो। उहाँले विकास र समृद्धिका लागि सरकारी तवरबाट हुने विभिन्न विकास निर्माण तथा योजनाका साथसाथै गैरसरकारी तवरबाट विभिन्न विचारमूलक तथा बहसमूलक कार्यक्रमहरु आवश्यक रहेको बताउनुभयो।कर्णाली प्रदेशका लागि नागरिक स्तरबाट सञ्चालन भएको विकास र समृद्धिको बहस गरिने यस उत्सव एउटा नमूना कार्य रहेको उहाँले बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 



सत्र १

कर्णाली भेरी सुसेल्दो छ

कर्णालीका गाउँगाउँमा गुनगुनाइने लोक भाकाहरुको विषयमा कर्नाली भेरी सुसेल्दो छ सत्रमा बहस भएको थियो। कर्णाली तथा कर्णालीका लोकलयमा गीतसंगीत लेखन तथा सिर्जनामा संलग्न गायक तथा सर्जकहरु सत्रमा उपस्थित हुनुभएको थियो। सत्रमा  सर्जकहरु गङ्गा केसी र प्रेमदेव गिरी, गायक नन्दकृष्ण जोशी र गायिका विजया शर्मा वक्ताको रुपमा हुनुहुन्थ्यो।

यो सत्रलाई डा. नवराज लम्सालले सञ्चालन गर्नुभएको थियो। देउडा गायक नन्दकृष्ण जोशीले कर्णालीको माटोले यहाँको बारे गीतहरु गाउन सिकाएको बताउनुभयो। सत्रमा वक्ताहरुले कर्णालीका लोकलयका गीतहरु सुनाउँदै ती गीतहरुको रहस्य र  इतिहासबारे समेत उल्लेख गर्नुभएको थियो।

पुरा पढ्न :  प्रेमदेव गिरी   विजया शर्मा   गंगा केसी  नन्दकृष्ण जोशी  

भिडियो हेर्नुहोस्ः 


पैकेलो

गोरख बिष्ट, फोटोग्राफर  

कर्णाली उत्सवमा कर्णालीलाई आफ्नो कर्मको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कर्णालीका हिरोहरु (खस भाषामा पैकेलो) को कथा सुन्ने गरिन्छ। त्यसै क्रममा हुम्लाका फोटोग्राफर गोरख बिष्टले आफ्नो कथा सुनाउनुभयो। फोटोमार्फत कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन विशेष योगदान गर्नुभएको उहाँले आफ्नो यहाँसम्मको यात्राको अनुभवका बारेमा तथा सफलताको कथा समेत प्रस्तुत गर्नुभयो। कर्णालीको विकट भूभागमा जन्मेर कर्णालीलाई चिनाउनका लागि काम गर्न पाउँदा आफू निकै नै उत्साहित भएको उहाँले बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 


सत्र २

बजार विकास हजार निकास

कर्णालीमा बजारलाई कसरी स्वतन्त्र बनाउन सकिन्छ भन्ने विषयमा यस सत्रमा बहस भयो। कसरी बजारलाई खुला तथा प्रतिस्पर्धी बनाउन सकिन्छ र यसको महत्वका विषयमा यस सत्रमा बहस भएको थियो। बजारको विकासबाट आउने हजार निकासहरुको विषयमा सत्र केन्द्रित  थियो। सत्रमा उद्यमीहरु हिमा उपाध्याय र रेवती गुरुङका साथै विकल्प अन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारी वक्ताको रुपमा रहनुभएको थियो भने सञ्चालकको रुपमा अध्येता सुरथ गिरी रहनुभएको थियो। सत्रमा सरकारले बेरोजगारी हटाउन नागरिकहरुलाई उद्यमशील बनाउनु पर्ने आवश्यकता रहेको वक्ताहरुले बताउनुभयो। सरकारले बजारलाई खुला र स्वतन्त्र बनाई उद्यमीमैत्री वातावरण बनाउनुपर्ने तर्क वक्ताहरुको थियो। वक्ताहरुले सरकारले उद्यमीहरुलाई सेवा लिन सहज वातावरण बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

पुरा पढ्न :  सुरथ गिरी    रेवती गुरुङ    बसन्त अधिकारी    हिमा उपाध्याय 

भिडियो हेर्नुहोस्ः 


कविता  साँझ

कविता साझमा कविहरू डा. नवराज लम्साल र बिमला तुम्खेवाका साथै स्थानीय कविहरुले कविता वाचन गर्नुभएको थियो। स्थानीय कविहरू पहल असिम, सावित्री भट्टराई, रोशन रावल लगायत एक दर्जन स्थानीय कविहरुले कविता वाचन गर्नुभएको थियो।

कविता साँझको सञ्चालन विज्ञान राजले गर्नुभएको थियो।

भिडियो हेर्नुहोस्ः  


२०७८ फागुन २८ गते शनिबार


सत्र ३

आरन, अन्वेषण र आविष्कार

परम्परा देखि बैज्ञानिक आविष्कार तथा अन्वेषणसम्मको बहस यस सत्रमा भएको छ। सत्रमा वक्ताको रुपमा अध्येता डिबि नेपाली, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन र विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका कविता पाण्डे हुनुहुन्थ्यो। सत्रको सन्चालन पत्रकार बिष्णु विवेकले गर्नुभएको थियो। सत्रमा कर्णालीमा अन्वेषण तथा आविष्कारको इतिहासका साथै यसको सम्भावनाको विषयमा बहस भएको हो।

सत्रमा अध्येता डिबि नेपालीले प्राचीन उत्पादन र अन्वेषणहरुलाई नयाँपन र प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो। विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका परम्परागत प्रविधि अधिकृत कविता पाण्डेले पुराना प्रविधिहरुको प्रयोगबारे नयाँ पुस्तालाई सिकाउन जरुरी रहेको बताउनुभयो। राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कर्णालीमा आविष्कार केन्द्र स्थापना जरुरी रहेको बताउँदै प्रदेश तथा स्थानीय तहले समन्वय गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले हरेक प्रदेश तथा स्थानीय तहले पूँजीगत बजेटको १ प्रतिशत बजेट भएपनि आविष्कार तथा अनुसन्धानको क्षेत्रमा छुट्टाउन सुझाव दिनुभयो।

पुरा पढ्न : महावीर पुन    कविता पाण्डे    डिवी नेपाली

भिडियो हेर्नुहोस्ः 


सत्र ४

लगानीमा लगाम

उद्योग र लगानीसँग सम्बन्धित यस सत्रको सञ्चालन पत्रकार गणेश कार्कीले गर्नुभएको थियो।  वक्ताको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल र उद्यमी निरक केसीका साथै  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशका अधिकृत अन्जु चौधरी रहनुभएको थियो। निजी क्षेत्र तथा कर्णालीमा निजी क्षेत्रको लगानीका विषयमा यस सत्रमा बहस भएको थियो।

कर्णालीको विकासमा निजी क्षेत्रको सहभागिता बढाउनका लागि अपनाउनुपर्ने उपाय तथा निजी क्षेत्रको लगानी बढाउन सरकारले ल्याउनुपर्ने नीतिका विषयमा यस सत्र केन्द्रित  थियो।सत्रमा बोल्दै वक्ताहरुले सरकारले राजश्व वृद्वि गर्नका लागि निजी क्षेत्रलाई लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो। वक्ताहरुले लगानीको वातावरण भएमा रोजगारी सिर्जना हुनुका साथै देशको कुल गार्हस्थ उत्पादनमा समेत योगदान हुने उल्लेख गर्नुभयो। आर्थिक समृद्विका लागि निजी क्षेत्रलाई लगानीमैत्री बनाउन जरुरी रहेको यस सत्रको निचोड रहेको थियो।

पुरा पढ्न : निरक केसी    अन्जु चौधरी    चण्डीराज ढकाल

भिडियो हेर्नुहोस्ः 


सत्र ५

झरो-उजेलोको खरो

कर्णालीमा विद्युत पहुँच र ग्रामीण विद्युतीकरणका विषयमा यस सत्रमा बहस भएको थियो। यस सत्रमा वक्ताको रुपमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका गजेन्द्रबहादुर महत र बिउराबारी जलविद्युत आयोजना जाजरकोटका निर्माण समिति अध्यक्ष निशा राना हुनुहुन्थ्यो। सत्रको सञ्चालन पत्रकार  महेश नेपालीले गर्नुभएको थियो। कर्णालीमा विद्युत पुगेर पनि अनियमित हुने विषयको समाधानका लागि पनि यस सत्रमा बहस  भएको थियो।

कर्णालीभरी बिद्युत पुर्याउनका लागि आवश्यक कार्यसम्पादनका विषयमा पनि यस सत्रमा छलफल भयो। सत्रमा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णालीमा छिटोभन्दा छिटो विद्युतीकरण हुने बताउनुभयो।उहाँले कर्णाली प्रदेशका धेरै नागरिकहरूले न्युनतम शुल्कमा विद्युत् उपभोग गरिरहेको समेत उल्लेख गर्नुभयो। विद्युत प्राधिकरणले कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर बजेट तथा योजना बनाउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो।

सत्रमा कर्णालीलाई कसरी पूर्ण रुपमा विद्युतीकरण गर्न सकिन्छ भन्ने विषयमा बहस भयो। जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद गजेन्द्रबहादुर महतले आफूले कर्णालीका अंध्यारोमा बसेका नागरिकहरुको आवाज संसदमा आवाज उठाएको बताउनुभयो। कर्णालीमा विद्युतको सम्भावना तथा यसको समस्याबारे पनि सत्रमा बहस भएको थियो।

पुरा पढ्न : महेश नेपाली    कुलमान घिसिङ    गजेन्द्रबहादुर महत    निशा राना

भिडियो हेर्नुहोस्ः 


सत्र ६

कर्णाली भेरी तीरैतीर: भविष्यको पीर

जलवायु परिवर्तन तथा विपद्सम्बन्धी यस सत्रमा बहस भएको थियो। सत्रमा वक्ताको रुपमा वन तथा वातावरण मन्त्रालयका  सहसचिव  डा. राधा वाग्ले, मध्यपश्चिम विश्वविद्यालयका डीन एवं जलवायुविज्ञ डा सुदीप ठकुरी, बराहताल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष योवराज कार्की र आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका अधिकृत कृष्णबहादुर रोकाय रहनुभएको थियो।

सत्रको सञ्चालन अभियान्ता इन्द्र बरालले गर्नुभएको थियो। सत्रमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायाले कर्णाली प्रदेश विपद्को जोखिममा रहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण आइपर्ने जोखिममा कर्णाली रहेको बताउनुभयो।

उहाँले विपद् व्यवस्थापनको पूर्वतयारीमा ध्यान नदिइकन प्रतिकार्य र राहतमा केन्द्रीत हुने हालसम्मको अवस्था परिवर्तन गरी विपद्को पूर्वतयारीमा लाग्न जरुरी रहेको बताउनुभयो। बराहताल गाउँपालिका वडा नं. २ का अध्यक्ष योवराज कार्कीले विपद्को पूर्वसूचना नागरिकसामु प्रवाह नहुँदा समस्या भएको बताउनुभयो। वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राधा वाग्लेले विपद्को पूर्वानुमान गरी सोहीअनुसार अनूकुलन परियोजनमा समावेश गरिएको बताउनुभयो।

पुरा पढ्न : डा. राधा वाग्ले    कृष्णबहादुर रोकाय    डा. सुदीप ठकुरी    योवराज कार्की 

भिडियो हेर्नुहोस्ः 


सत्र ७

रैबार र रैला

मिडियाहरुमा आउने सूचना र नागरिकमा यसले ल्याउने भ्रमसम्बन्धी यस सत्रमा बहस भएको हो। सत्रको वक्ताको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, देशसञ्चारका सम्पादक युवराज घिमिरे, एपिवान टेलिभिजनका प्रधानसम्पादक टीकाराम यात्री र रेडियो भेरी सुर्खेतका दीपा कोइराला रहनुभएको थियो।सत्रको सञ्चालन पत्रकार विनु सुवेदीले गर्नुभएको थियो।

सत्रमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले पछिल्लो समय सामाजिक सञ्जालका कारण समाचारहरुमा अफवाह फैलिने समस्या रहेको बताउनुभयो। पत्रकार युवराज घिमिरेले मिडिया तथा सरकारी निकाय सबै जवाफदेही हुनुपर्ने बताउनुभयो। पत्रकार टिकाराम यात्रीले पत्रकारितामा राजनीतिक दलको संग्लग्नताले असर गर्ने बताउनुभयो। रेडियोकर्मी दीपा कोइरालाले सञ्चारमाध्यमबाट अफवाह फैलिने कुरामा स्थानीय भन्दा केन्द्रका मिडियाबाट बढी सम्भावना हुने बताउनुभयो।

पुरा पढ्न : बिनु सुवेदी  डा. बैकुण्ठ अर्याल    दीपा कोइराला    युवराज घिमिरे    टिकाराम यात्री

भिडियो हेर्नुहोस्ः 


पैकेलो

सिर्जना सिज्जु, यात्री

रुकुम पश्चिम स्थायी ठेगाना भएका यात्री सिर्जना सिज्जुले कर्णालीका विभिन्न जिल्ला तथा भूभागहरूमा पुगी सामाजिक सञ्जालमार्फत कर्णाली प्रदेशलाई चिनाउन गर्नुभएको योगदानका विषयमा आफ्नो अनुभव तथा कथा भन्नुभयो। विशेषगरी सामाजिक सञ्जाल युट्युब र टिकटकमार्फत् कर्णाली प्रदेशका बिभिन्न भूभागहरुमा पुगी त्यहाँको बारेमा सामग्री बनाई प्रचारप्रसार गर्न सहयोग गर्नुहुने उहाँले आफ्नो अनुभव र थप यात्राबारे विभिन्न कुराहरु भन्नुभयो।

भिडियो हेर्नुहोस्ः 


गजल महफिल 

राष्ट्रिय तथा स्थानीय गजलकारहरु  प्रदिप रोदन, माया निर्भिक, महेन्द्र चन्द महासागर, लक्ष्मण संगम,  नमिता बराल लगायतले तीन दर्जनभन्दा बढी गजल वाचन गर्नुभएको थियो। गजलमा कर्णालीको परिवेशका कथाहरुका साथै स्थानीय भाषाको समेत प्रयोग गरिएको थियो ।

भिडियो हेर्नुहोस्ः 


२०७८ फागुन २९ गते आइतबार


सत्र ९

शून्य समय

संघीयताका कारण प्रदेश तथा स्थानीय तहमा रहेको अधिकार र त्यसको कार्यान्वयनका जटिलताका साथै अधिकार प्राप्तिका लागि भएको संघर्षबारे बहस भएको थियो। प्रदेश सभाको शून्य समयका साथै सांसदहरूका कुराहरू प्रदेश सरकारले कति सुन्छ? र त्यसको कार्यान्वयन के कति हुन्छ? भन्ने विषयमा समेत यस सत्रमा बहस भएको थियो। बहसमा कर्णाली प्रदेशसभा सदस्य देवी ओली र सिता कुमारी नेपालीका साथै प्रदेशसभा सचिव जीवराज बुढाथोकी वक्ताको रुपमा रहनुभएको थियो। सत्रको सञ्चालन अभियन्ता नारायण अधिकारीले गर्नुभएको थियो।

सत्रमा कर्णाली प्रदेश सभाको समाजिक विकास समितिका अध्यक्ष देवी ओलीले संसदीय समितिका निर्देशन करिब ७० प्रतिशत कार्यान्वयन् भएको उल्लेख गर्नुभयो। प्रदेश सभा सदस्य सिताकुमारी नेपालीले प्रदेश सभाले खुला संसदको अधिकतम अभ्यासको प्रयास गरेको बताउनुभयो। उहाँले संसदीय समितिहरुले सरकारका कामकारबाहीमा खबरदारी र अनुगमन तथा निर्देशन गरिरहेको बताउनुभयो। कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले प्रदेश सभाले सुचनाहरु सहज रुपमा नागरिकहरु र सरोकारवालाहरुसमक्ष पुर्याइरहेको बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 


सत्र १०

वाद, विवाद र संवाद

यस सत्रमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र शहरी विकास मन्त्री तथा नेकपा एकिकृत समाजवादीका नेता रामकुमारी झाँक्री वक्ताको रुपमा रहनुभएको थियो। सत्रको सञ्चालन पत्रकार मनऋषि धितालले गर्नुभएको थियो। नेपालका विभिन्न राजनीतिक दलहरुले अंगीकार गर्ने राजनीतिक सिद्वान्त  (वाद) को सान्दर्भिकता के छ? सिद्वान्तलाई व्यवहारमा कसरी ढाल्न सकिन्छ ? समृद्विको सिद्वान्त के हो ?  यस विषयमा यस सत्रमा संवाद भएको हो।

बहसमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक एजेण्डाहरुलाई पुरानै शैलीमा मन्त्र जस्तै जप्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो। शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्रीले राजनीतिक दलहरुले सिद्वान्तहरु व्यवहारमा लागू गर्दै समय अनूकुल परिवर्तन जरुरी रहेको बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 


सत्र ११

विकासको बाटो 

विकासका लागि मार्गदर्शक विषयहरु के हुन सक्छन्?  विकासको बाटो कस्तो हुनसक्छ र यसका लागि बाधाहरु के के हुन सक्छन्  ? बजेट खर्चको अवस्था र यसको सुधारका लागि उपायहरु कस्ता हुन सक्छन् र यसका कारणहरु के के हुन् ? भन्ने जस्ता विषयमा यस सत्रमा बहस गरिएको थियो।  सत्रमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, नेपाल सरकारका अर्थसचिव मधुकुमार मरासिनी, राष्ट्रियसभा सदस्य तथा राजनीतिज्ञ डा. विमला राइ पौडेल वक्ताको रुपमा रहनुभएको थियो। सत्रको सन्चालन अभियन्ता विशेष संगतले गर्नुभएको थियो।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले कर्णालीमा सबैभन्दा महत्वपूर्ण काम सडकको विस्तार गर्नु रहेको बताउनुभयो। भौगोलिक विकटताका कारण पूर्वाधार विकासमा कर्णालीलाई असहज भएको उहाँको भनाई थियो। नेपाल सरकारका अर्थसचिव मधुकुमार मरासिनीले कर्णालीमा विकासको बाटो हवाइजहाज, सडक, शिक्षा, स्वास्थ्य र विद्युत आदिबाट कर्णालीमा आएको बताउनुभयो। राष्ट्रियसभा सदस्य तथा राजनीतिज्ञ डा. विमला राइ पौडेलले कर्णालीमा साधन र स्रोत भएपनि उचित व्यवस्थापन नहुँदा तिब्ररुपमा विकास नभएको बताउनुभयो। कर्णालीमा लगानीको वातावरण सहज भएमा विकासमा धेरै सहजता हुने उहाँले बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 


सत्र १२

उमेरको उमंग

विद्यार्थी राजनीतिको विषयमा यस सत्रमा बहस गरिएको थियो। विद्यार्थी आन्दोलन, राजनीतिक उमंग  र युवा पुस्ताको राजनीतिप्रतिको आकर्षण लगायतका बिषयबस्तुमा केन्द्रित यस सत्रको वक्ताको रुपमा अनेरास्ववियुका अध्यक्ष सुनिता बराल, अनेरास्ववियू(क्रान्तिकारी) का अध्यक्ष  पञ्चा सिंह, अनेरास्ववियूका महासचिव आरती लामा र नेपाल विद्यार्थी सङ्घका नेता पुनम भट्ट भट्टराई रहनुभएको थियो।

सत्रको सन्चालन अभियन्ता  प्रकृती बस्नेतले गर्नुभएको थियो। बहसमा वक्ताहरुले सरकार र सरकारी निकायहरुका क्रियाकलापहरुप्रति निरन्तर खवरदारी गरिरहेको बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 


सत्र १३

कर्णाली चिन्तन (दिगो विकास र कर्णाली)

राष्ट्रिय योजना आयोगका अध्यक्ष  डा विश्व पौडेलले यस सत्रमा लिखित मन्तव्य सहित दिगो विकास र कर्णाली शीर्षकमा प्रवचन दिनुभएको थियो। उहाँले कर्णालीको विकासका लागि मार्गदर्शन हुने कुरा सहित अबको बाटोको विषयमा उल्लेख गर्नुभएको थियो।

आर्थिक रूपले कर्णालीलाई स्विट्जरल्याण्ड वा अन्य धेरै विकसित मुलुकसँग तुलना गरेर हेर्दा अन्तरिक्ष जस्तो विस्तृत र लगभग अपरिमेय फरक देखिनसक्ने उहाँले आत्तिएर वा आत्मसमर्पण गरेर यो फरक नमेटिने बताउनुभयो। ‘दिगो विकासका हरेक लक्ष्यहरू प्राप्त गर्न शुरुमा सडक र शिक्षामा प्रगति गर्नुपर्ने देखिन्छ’ उहाँले बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 


पैकेलो

डा. मंगल रावल

उपकुलपति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका उपकुलपति डा. मंगल रावलले आफ्नो कथा सुनाउनुभयो। हुम्ला जिल्लामा जन्मनुभएको उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुँदासम्मको संघर्षपूर्ण यात्राको कथा सुनाउनु भएको थियो।

कर्णालीकै सर्वोत्कृष्ट स्वास्थ्य संस्था कर्णालीकै नागरिक भएर हाँक्न पाउँदाको खुसी उहाँले व्यक्त गर्नुभयो। उहाँले हालसम्मका सबै शैक्षिक उपलब्धि सार्वजनिक शैक्षिक संस्थाबाट हाँसिल गर्नुभएको छ। कडा मेहनतका कारण आफू यो स्थानसम्म आइपुगेको उहाँले सुनाउनुभयो। डा. रावलले अब कर्णालीले बिरामी होइन, डाक्टर काठमाण्डौं पठाउने दिन आएको बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 


समापन मन्तव्य

पुष्पा घर्ति विष्ट, उपसभामुख, कर्णाली प्रदेश सभा

कर्णाली उत्सव ..कुडा कर्नालीकाको तेस्रो संस्करणको समापन समारोहमा बोल्दै कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती विष्टले कर्णाली प्रदेशको केन्द्र सुन्दर नगरी वीरेन्द्रनगर सुर्खेतमा तीन दिन सम्म संचालित यस कार्यक्रममा कर्णालीका थुप्रै आयामहरू माथि छलफल र बहस भएको बताउँदै कर्णालीका प्राकृतिक श्रोत जल, जमीन, जंगल लगायत यहाँको पर्यावरण, पर्यटन, लगानी र विकासका पूर्वाधारहरू लगायतका बिभिन्न क्षेत्रहरूको वर्तमान अवस्था र आगामी दिनमा यीनको समूचित विकासका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूले उत्सवका  बिभिन्न सत्रहरूमा आफ्ना विचार ब्यक्त गर्नु भएको उल्लेख गर्नुभयो।

निरन्तर संवाद र छलफलले कर्णालीमा एक प्रकारको उर्जा ल्याएको उल्लेख गर्दै उहाँले उत्सव अवधीभर मुलुककै ध्यान कर्णालीमा केन्द्रीत भएको बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 


समापन मन्तव्य

कमलराज लम्साल, अध्यक्ष, ऋति फाउण्डेशन

कर्णाली उत्सव कुडा कर्नालीका तेस्रो संस्करण समापन समारोहमा बोल्दै ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले विचार नै विकासको प्रारम्भ विन्दु भएको बताउनुभयो। उहाँले विचारले नै हामीलाई दिशानिर्देश गर्ने बताउँदै कर्णालीमा प्रशस्त स्रोत साधन भएर पनि हामी समृद्धिको सपना देख्न नसकेको उल्लेख गर्नुभयो। उहाँले कर्णाली उत्सवमार्फत् समृद्धिको सपना पहिल्याउने प्रयास गरिने बताउनुभयो।

भिडियो हेर्नुहोस्ः 



पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events