राधा पौडेल, अभियन्ता, लेखक

राधा पौडेल
अभियन्ता, लेखक

वास्तवमा मैले अठार–उन्नाइस वर्ष अगाडि कर्णालीका महिलाहरूको जुन अवस्था देखेको थिएँ, त्यो अवस्थाबाट राजनीति, स्वास्थ्य, खानपान आदि कुरामा अलिकति सकारात्मक हिसाबले अगाडि बढेको देखेको छु । तर गमता बिकजी र डा. नवराज केसी (कर्णाली उत्सवको दोस्रो संस्करण, २०७७ मा छाउ र भाउ सत्रका वक्ताहरु) को कुरा सुन्दै गर्दा कर्णालीमा महिला तथा बालबालिकाहरूको अवस्था जहाँको त्यहीँ छ भन्दा फरक पर्दैन जस्तो मलाई लाग्छ ।
वास्तवमा हामीले ‘महिनावारी बार्ने’ जुन अभ्यास छ, पुरुषहरूको दाह्री–जुँगा आएजस्तै महिलाहरूको महिनावारी हुने कुरा हो । यो प्राकृतिक कुरा हो । तर यससँग जोडिएको सामाजिक, आर्थिक, राजनीतिक, वातावरणीय पक्षहरूलाई विश्लेषण नगरेका कारणहरूले गर्दा पेटमा बच्चा आएदेखि मृत्युपर्यन्तसम्म छोरीहरूमाथि गरिने विभेदहरूको मुख्य कारण नै महिनावारी बार्ने अभ्यास बनेको छ ।
त्यो अभ्यासका दृष्टिले हेर्दा महिलाहरूको अवस्था पटक्कै सुध्रिएको छैन । अहिले खुसी लाग्छ, दैलेखमा गमताजीले आफूले छाउ बार्न छोड्नुभयो । त्यसपछि सङ्गठित रूपमा छोरीहरूलाई लैजानुभयो, र गोठ पनि भत्काउनुभयो । उहाँ जुन प्रक्रियागत रूपमा अगाडि जानुभएको छ उहाँको कथा र मेरो कथाको सिलसिला वा प्रक्रिया एउटै हो । भलै हामी दुईवटा फरक जातमा, फरक परिवेशमा जन्मिएर, हुर्किएर काम गरेका व्यक्तिहरू हौं । हामीले काम गर्ने प्रक्रिया एउटै हो ।
त्यसो त नेपाल सरकारले मर्यादित महिनावारीलाई आत्मसात् गरेर मस्यौदा नीति बनाउने, विभिन्न कार्यक्रमहरूमा समावेश गर्ने, अन्तर्राष्ट्रियस्तरमा कार्यशाला गोष्ठी गरेर ‘छाउपडीको देश होइन मर्यादित महिनावारीको देश हो’ भनेर अगाडि लैजानका लागि पहल गरेको छ ।
छाउपडी गोठमुक्त अभियान सञ्चालन गर्दै मर्यादित महिनावारी प्रवद्र्धन गर्ने भनेर २०७६ माघको ८ गते संघीय, प्रदेश र स्थानीय तहका सबै प्रमुखहरू रहेर प्रतिबद्धता गरेको पनि हो । तर एकातिर अक्षरहरूमा, संविधानमा, नीति नियमहरूमा, प्रतिबद्धताहरूमा, भाषणहरूमा महिलाहरूको सशक्तीकरण भएको छ, महिलाहरू मर्यादापूर्वक जीउन पाउने कुराको आभास दिएको छ ।
तर वास्तविक जीवनमा भने सुकी बडाललाई हेर्नुपर्छ । उनी गरिबीका कारणले मात्रै मरेकी होइनन्, उनी रक्सी खाएको श्रीमानले कुटेर मात्रै मरेकी होइनन्, त्यहाँभित्र रहेको ‘छोरीहरू भनेको मानव नै होइनन् उनीहरू एउटा पशु सरह हो’ भन्ने जुन खालको सामाजिकीकरण छ, त्यसले गर्दा उनको ज्यान गएको हो । महिनावारी बार्ने कारणले गर्दा घर देखि नै छोरा र छोरी बीचमा जुन खालको छोरीहरूलाई शक्तिविहीन र छोराहरूलाई शक्तिशाली म जे पनि गर्न सक्छु, जे पनि गर्न हुन्छ भन्ने खालको सामाजिकीकरण भएको छ त्यसको एउटा परिणाम हो ।
यसले हाम्रो राजनैतिक, आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ सबै तह र क्षेत्रमा अल्पकालीन र दीर्घकालीन दुवै रूपमा असर गरेको छ ।
आमा भन्दा अथवा महिला भन्दा हामीले महिनावारी भन्ने कुरै छुटायौँ । हामीले गर्न बिर्सेको कुरा नै यही हो । जबसम्म महिनावारी विभेदलाई सम्बोधन गर्न हामीले अभियान अथवा कुराकानी, वार्ता गर्दैनौँ, तबसम्म केही पनि परिवर्तन हुँदैन । आमालाई महिनावारी विभेदका कारणले गर्दा, एउटा छोरी पेटमा आएदेखि नै हेलाँ गर्न थालिएको छ ।
छोरी त हो नि यो यसले केही पनि गर्न सक्दैन । यो दोस्रो दर्जाको व्यक्ति हो भन्नेखालको उसलाई मानवको हैसियत मै राखिएको छैन । अर्कोतिर महिनावारी भएकै कारणले गर्दा उसले जुन खालका खानेकुराहरू खान पाउनुपर्ने थियो, त्यो खानेकुराहरू खानबाट नै उ विभेदमा पर्छ ।
यहाँ ५० प्रतिशत महिलाहरू कुपोषित भएको कारणले ५० प्रतिशत बच्चाहरू कुपोषित छन् भन्ने खालको जुन तथ्याङ्क छ त्यो एकदम अन्तर सम्बन्धित हुन्छ । हामीले आज छाउको कुरा गर्दैगर्दा ‘समावेशीको एजेन्डा राख्दिऊँ न त, महिनावारीको कुरा गरम न कर्णालीमा राखिएको कार्यक्रम भएपछि सरसफाइको कुरा पनि गर्दिए हुन्छ’ भन्नेखालको मानसिकताबाट ग्रसित भएको कारणले गर्दा महिलाहरू विभिन्न तह र क्षेत्रमा हिंसामा परेका हुन् ।
आत्म हत्याको कुरा, सुकी बडालको कुरा होस् वा उहाँले स्कुल जान नपाएको कुरा होस् वा उहाँले राजनीतिमा सहभागि हुन नपाएको कुरा होस् यो सबैको सम्बन्ध महिनावारी बार्ने अभ्यास वा महिनावारी विभेदसँग सम्बन्धित छ । जुन महिला महिनावारी भएको अवस्थामा भान्सामा बसेर कुराकानी गर्न सक्दैन, जुन महिलाले आफ्नो दाई भाई अथवा आमा सँगसँगै बसेर खान सक्दैन उसको पहिलो संसद् भनेको भान्सा हो अथवा डाइनिङ टेबल हो ।
संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता लेखेको छ भनेर भन्दैमा संसदमा गएर ३३ प्रतिशत महिला सहभागिता गराउन सकिन्छ? सकिँदैन । त्यहाँ गएर बोल्न सक्नुहुन्छ? सक्नुहुन्न । तसर्थ सबैभन्दा पहिला प्रश्न गर्न सिकाउने, आफ्नो बाउ, आमा, दाई, भाईलाई प्रश्न गर्ने, चुनौती दिने थलो भनेको नै घर हो ।
आज नेपालमा एक सय हिंसाका घटनामध्ये ९३ वटा घरमा भएका छन् । त्यो ९३ वटा हिंसामा ८२ वटा हिंसाचाहिँ आफ्नै घरपरिवारका व्यक्तिले गर्छन् । श्रीमान्, दाई, भाई, काका, हजुरबुवाले गरेका छन् । त्यो कुराबाट जबसम्म हामी टाढा भाग्न खोज्छौँ, तबसम्म उहाँहरू दुवै जनाले भनेका समस्याहरू समाधान गर्न सक्दैनौँ ।
सबैभन्दा पहिलो, चाहे त्यो संसद् भन्नुहोस्, चाहे त्यो स्कुल वा विश्वविद्यालय भन्नुहोस् जे भने पनि घर हो । घरभित्रको शक्ति निर्माण प्रक्रियालाई हामीले भङ्ग गर्न सकेनौँ । शक्ति निर्माण प्रक्रिया भनेको छोरीहरूलाई शक्ति विहीन बनाउने र छोराहरूलाई शाक्तिहाली बनाउने हो । जुन महिनावारी बार्ने चलन वा अभ्यास छ, चाहे त्यो काठमाडौंको कुरा होस्, चाहे धनी वा एकदमै पढेको परिवार, चाहे कर्णाली, सुदूरपश्चिम सबै ठाउँमा जुन खालको छोरीहरूप्रति गरिने फरक, शक्तिविहीन अथवा अमानवीय हिसाबले हेर्ने दृष्टिकोण छ, त्यो दृष्टिकोणलाई नबदलेसम्म अर्थको ‘अ’ पनि जोडिँदैन आमाको ‘अ’ पनि जोडिँदैन ।
आमालाई सहानुभूतिका हिसाबले आमा एकदम राम्री हुन्छिन्, आमाको ममताबिना केही पनि हुँदैन भनेर कविता वा गीत गाएर मात्र केही पनि हुनेवाला छैन । किन सम्मानित राष्ट्रपति संस्था माथि अमानवीय शब्दहरू बोलिए? संसदमा महिलाहरू बोल्दाखेरि किन ट्याउँट्याउँ गर्छन् भन्ने शब्दहरू बोलिए? किन महिलाहरूले फेसबुकमा विभिन्न कुराहरू लेख्दाखेरि बलात्कार गर्ने, मार्ने धम्कीहरू आउने गर्छन्? ती सबैको पछाडि महिलाहरूलाई हेर्ने दृष्टिकोण महिनावारी बार्ने अभ्यासबाटै निर्मित छ ।
महिनावारी अशुद्ध हो, पाप हो, कुरा गर्नुहुँदैन, छोपछाप राख्नुपर्छ, लाज हो भन्ने एकातिर अज्ञानता छ । अर्कोतिर मौनता र धर्म संस्कृतिसँग जोडेर दिइने डर छ । महिलाहरू आफैँमा पनि म सानो छु, कमजोर छु, केही पनि गर्न सक्दिन भन्ने खालको कुराहरू स्थापित गराइएको छ ।
एउटा बच्चाले पाँच–छ वर्षको उमेरमा नै महिनावारीको बारेमा थाहा पाउँछ । आमाको, छिमेकी भाउजूको, दिदीहरूको, काकीको व्यवहारबाट उनीहरूले महिनावारी बारेमा थाहा पाउँछन् । म ठूलो भएपछि महिनावारी हुन्छु, महिनावारी भएपछि महिनावारी यसरी बार्नुपर्छ, पचास साठी वटा महिनावारी बार्नुपर्ने सुची उसले तयार गरिसकेको हुन्छ ।
छोरीले बोल्न हुँदैन, चुप लागेर सहनुपर्छ भनेर सिकाइएको हुन्छ । आफ्नो आमालाई प्रश्न नगर्ने छोरीले, आफ्नो दाइले चिमट्दा, धकेल्दाखेरि तिमीले मलाई राम्रो गरेनौ मलाई मन परेन भन्न नसक्ने छोरीले भोलि आफूले काम गर्दाखेरि अथवा स्कुलमा अथवा श्रीमानलाई चाहिँ मलाई यो मन पर्दैन अथवा यस्तो नगर, नाइँ भन्न सम्भव छैन ।
प्रश्न गर्न सिकाउने, नाइँ भन्न सिकाउनेको अभ्यास घरबाटै गर्नुपर्छ तबमात्र सबै कुराको समाधान हुन्छ । सबै हिंसाको मूल जरा भनेको नै महिनावारी विभेद हो त्यसमा सम्बोधन नगरीकन वा महिला भन्ने बित्तिकै महिनावारी आउँदैन भने त्यो सम्भव छैन ।
यो पृथ्वीमा महिनावारी सुरु भएको चार खरब वर्ष भयो । होमोसेपियन्स अथवा चिम्पाञ्जीको पालादेखि महिनावारी यहाँ छ । त्यही महिनावारीको कारणले गर्दा अगाडि ड्यासमा बस्ने पुरुषहरू जन्मनुभएको हो । जो शक्ति लिएर बस्नुहुन्छ । सबैभन्दा पहिला सबै पुरुषहरूले म महिनावारीको कारणले यो पृथ्वीमा आएको हुँ भन्ने कुरा आत्मसात् गर्नुप¥यो । पुरुषहरू कहीँ न कहीँ केही न केही रूपमा शक्तिमा हुनुहुन्छ ।
यहाँ उपस्थित बा, आमा, भाई, छोराहरू, प्रहरीहरू सबैलाई सोध्न चाहन्छु कि तपाईंहरूले कहिलेकहिले महिनावारीको बारेमा कुरा गर्नुहुन्छ? महिनावारी हुँदाखेरि आमा, दिदि, बहिनी, छोरीलाई कस्तो व्यवहार गर्नुभएको छ? त्यहाँबाट सुरु गर्नुपर्छ ।
हामीलाई कसैको प्रोजेक्ट चाहिँदैन, कसैको कानून चाहिँदैन । म कहाँबाट आएँ? यो पृथ्वीको अस्तित्व के मा रहेको छ ? भन्ने कुरा आत्मसात् गरेर हेर्ने हो भने सबै समस्याको मूल जरो महिनावारी भएको भेटिन्छ । र, यसको कर्ता पुरुष । त्यसकारण समस्या समाधानको नेतृत्व पुरुषले गर्नुपर्छ भन्ने म ठान्छु । र, यो सम्भव छ भन्ने मलाई लाग्छ ।
महिला अधिकारको कुरा ग¥यो, महिनावारीको कुरा ग¥यो भने पुरुषहरु पन्छिन्छन् । महिलाहरू नै उस्तै हुन् भन्ने कुरा गरिन्छ । अघि अन्तिम प्रश्नमा गमताजीलाई सोधिएको छ कुनै पनि व्यक्ति, कुनै पनि अभियानकर्मी, राजनीतिकर्मी सबै कुरा जानेको हुन सक्दैन । लैङ्गिक विभेद भन्ने कुरा चौबिसै घण्टा, प्रत्येक सकेन्डमा जकडिएर बसेको छ ।
हामीले अहिले भर्खर गरेको कुराकानी छलफल, उहाँले गर्न आँटेको जुन बामे सर्न आँटेको खालको अभ्यास गरिराख्नुभएको छ, सबै प्रश्नहरूको उत्तर दिन सक्ने सबै कुराहरूको रोल मोडल हुन सक्ने कोही पनि छैनौँ । हामी सबैले विगतबाट सिक्दै, समीक्षा गर्दै अगाडि बढ्न सकियो भने साँच्ची कै न्यायसङ्गत समाज सृजना गर्न सकिन्छ ।
मौरीले भूँभूँ गरेजस्तै हामीले महिनावारी… महिनावारी… भन्नुपर्छ । घरमा, स्कुलमा, पूजामा सबै ठाउँमा कुरा गर्न थालेपछि, हाम्रो संविधानमा लेखिएका अधिकारहरू प्राप्त गर्न सजिलो हुन्छ । खाना, स्वास्थ्य, शिक्षा, मर्यादापूर्वक जिउन पाउने अधिकार, महिलाको प्रजनन हकको अधिकार लगायत सबै अधिकार प्राप्त गर्नको लागि महिनावारीका बारेमा कुरा गर्नु जरुरी छ ।
संविधान लागू गर्नका लागि हामीहरू यहाँ छौ, हरेक मानिसले म..म.. भनेर आफ्नो आफ्नो क्षेत्रबाट महिनावारीका बारेमा कुरा गरी राख्यौँ र समस्या समाधान गर्ने प्रयास गरिराख्यौँ भने त्यो पक्कै पनि सम्भव छ ।
पुरुषहरू जन्मिँदै हिंस्रक भएर जन्मिएका होइनन् । सबै पुरुषहरू हिंस्रक हुँदैनन् पनि । र, असल पुरुषहरू धेरै भयो भने साँच्चिकै न्यायपूर्ण समाज सिर्जना गर्न सकिन्छ । घर र समाज सुरक्षित हुन्छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events